पछिल्लो समय सौन्दर्य प्रतियोगिताका नाममा किशोरीमाथि भइरहेको ज्यादती, यौन दुर्व्यवहार र बलात्कारका घटनाले धेरैको ध्यान तानेको छ । काठमाडौँमा एक किशोरीले सौन्दर्य प्रतियोगिताका नाममा आफूमाथि केही वर्षअघि बलात्कार भएको घटना सार्वजनिक गरेपछि यसको चौतर्फी निन्दा र आलोचना भइरहेको छ । जसमा संलग्न मनोज पाण्डे नामका व्यक्ति पक्राउ परेका छन् भने बलात्कार घटनामा पीडितलाई बेवास्ता गरेको र पीडकको पक्ष लिएको विषयमा पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि विवादमा तानिएकी छन् । अदालतमा मुद्दा चलिरहँदा उनले पनि बयान दिएकी छन् । केही समयअघि एक नाबालिग गायिकासँग यौन सम्पर्क राखेपछि बलात्कार मुद्दा खेपिरहेका पल शाह पनि थुनामै छन् । यस्ता विषय उठिरहँदा पछिल्लो समय विभिन्न किशोरीले आफूमाथि भइरहेको ज्यादती र बलात्कारका घटनाबारे पनि मुख खोल्न थालेका छन् । यस्तो अवस्थामा बलात्कारसम्बन्धि घटनामा हदम्याद नाघेको भन्दै अपराध ढाकछोप गर्ने प्रवृत्तिमाथि पनि बहस भइरहेको छ । बलात्कार मुद्दामा हदम्याद नाघेपछि अब कसरी पीडितले न्याय पाउने र पीडकलाई कारबाही हुन्छ ? भन्ने विषयमा खबरहबका लागि धीरज बस्नेतले अधिकारकर्मी तथा अधिवक्ता राधिका खतिवडासँग गरेको कुराकानीको सम्पादित अंशः
एक किशोरीले ८ वर्षपछि आफूमाथि भएको बलात्कारको घटना सार्वजनिक गरेकी छन् । तर कानुनी हदम्यादका कारण उनले न्याय पाउने सम्भावना कमजोर छ भनिन्छ । के उनले न्याय पाउने सम्भावना हुँदैन ? सामान्यतया बलात्कारको केशमा पीडितको भनाई नै पहिलो प्रमाण हुन्छ, जसरी पीडित युवतिले आफ्नो घटनालाई सोसल साइटबाट व्यक्त गर्नुभएको छ, त्यो आफैमा एउटा प्रमाण हो । तर अब यो इभिडेन्स् त भयो यो कहिले ल्याउनु पर्थ्यो किन ढिलो ल्याउनु भयो भन्ने प्रश्न चाहिँ जताततै उठेको छ । अब यसमा चाहिँ के हुन्छ ? अपराध त भइसकेको अवस्था देखिन्छ । उहाँको भनाइ सुन्दा खेरी अपराध जब भयो एउटा नाबालिकामाथि करणी भएको देखिन्छ । त्यति मात्रै होइन उहाँलाई करणीपछि २० हजार रुपैयाँ दिएको भनेर पनि उहाँले भन्नु भएको छ । अब यो अवस्थामा हदम्याद गएपनि ती पीडकमाथि बलात्कारको मुद्दा चल्नु पर्छ भन्ने हो । तर, हाम्रो कानुनले एक वर्षे हदम्याद राखेका कारण बलात्कारको मुद्दा चल्ने सम्भावना कमजोर देखिन्छ । तर, पीडकमाथि मानव बेचबिखनको मुद्दा चलाउन सकिन्छ । प्रहरीले पनि यही दिशातर्फ अनुसन्धान अघि बढाएको मैले जानकारी पाएको छु । पीडितको भनाइ अनुसार बलात्कारपछि शरीर किनबेच गर्ने उद्देश्यले पीडकले पैसा दियो त्यसका आधारमा मानव बेचबिखनसँग सम्बन्धित कानुन आकर्षित हुन्छ । यसमा हदम्याद छैन । त्यसका कारण प्रहरीले जबरजस्ती करणीमा मुद्दा नचलाए पनि मानव बेचबिखनको मुद्दा चलाउन सक्छ । प्रहरीको तयारी पनि यही छ भन्ने मैले जानकारी पाएको छु।
घटना भएको वर्षौसम्म यो कुरा यतिकै गुपचुप रहनु र धेरै पछि बल्ल बाहिर आउनु पछाडिको कारण के रहेछ ? तपाईँले कुनै जानकारी पाउनु भएको छ ? मैले उहाँसँग भेटेर यो विषयमा सोधेको छैन । उहाँले सामाजिक सञ्जालमा व्यक्त गर्नु भएको कुराहरू मात्रै सुनेको छु । तर, मलाई चाहिँ के लाग्छ भने सबभन्दा पहिला उहाँ जति बेला टीनएजर्समा त्यो सुन्दरी प्रतियोगितामा हुनुन्थ्यो त्यति बेला उहाँको जीवनमा घटना घट्यो । त्यसपछि उहाँले त्यति बेला केही मान्छेहरूलाई व्यक्त गरे भन्नु भएको छ । तिनीहरू सबै प्रमाणका रूपमा काम गर्छ तिनीहरूले, त्यसपछि यहाँले चाहिँ बीचमा उहाँका अरु बोइफ्रेन्डहरुलाई पनि भेटे भन्नुभएको छ । र, त्यो सबै मान्छेहरूबाट धोका हुँदै हुँदै गएपछि उहाँले मेरो लाइफमा यति धेरै मान्छेहरुले यसरी खेल्न पाउँछन् त ? भन्ने लागेर अन्तिममा यो कुरा व्यक्त गर्नु भएको जस्तो लाग्छ ।
प्रहरीले ती किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई त पक्राउ गर्यो । तर उनको जीवनमा खेल्ने अन्य व्यक्तिहरूले चाहिँ यसै उन्मुक्ति पाउँछन् ? उनको भनाइ अनुसार ती किशोरी सबैभन्दा पहिला र बढी भिक्टिम मनोज पाण्डेबाट नै भएकी छन् । यौनका विषयमा राम्रोसँग नबुझ्ने बेला जम्मा १६ वर्षको उमेरमा उनको कुमारीत्व लुट्ने काम भयो । जहाँबाट उनको जीवन बर्बादीको श्रृंखला सुरु भयो । त्यही सोचेर उनले खासगरी त्यो घटनालाई ज्यादा फोकस गरे झैँ लाग्छ । जति बेला उनका लागि यौन कुनै इन्ट्रेस्टको विषय थिएन त्यो बेला उनीमाथि उनको जीवनमा जुन घटना घट्यो । त्यो घटनाले सायद उनलाई सधैँ पीडामा राख्यो । फेरि अन्यले जबरजस्ती गरेको भन्दा पनि भावनासँग खेलेको भन्ने कुरा गरेकी छिन् । उनले आफ्नो जीवनमा आइपरेको समस्याको जड त्यही घटना र तिनै व्यक्ति थिए भन्ने हिसाबले पनि त्यसमा फोकस गरेको हुनसक्छ । तर, अब प्रहरीले अनुसन्धान थालिसकेको छ । अनुसन्धानका क्रममा त्यो घटनासँग जोडिएका र उनको जीवनमा ब्वाइफ्रेन्डका रूपमा आएका व्यक्तिहरू पनि तानिन सक्छन् ।
पीडित किशोरीले माल्भिका सुब्बा लगायतसँग सहयोग मागेको भनेकी छन्, त्यसमा उनले सहयोग गरिनन् भनिएको छ । अब यो मुद्दामा माल्भिका पनि तानिन्छिन् ? पहिलो कुरा किशोरीले माल्भिकाभन्दा प्रहरीमा विश्वास गर्नु पर्थ्यो । प्रहरीकोमा उजुरी दिनु पर्थ्यो । तर उनले माल्भिकासँग सहयोग मागिन, पीडित किशोरीले माल्भिकासँग आस गरिन तर उनले बेवास्ता गरिन भनिएको छ । यस्तो अवस्थामा प्रहरीले किन माल्भिकाले सहयोग गरिनन् भनेर त सोध्छ नै । अन्य प्रमाण जुटाउने क्रममा पनि माल्भिकालाई बोलाउँछ । यदि माल्भिकाले घटनाको अनुसन्धान गर्न सहज रुपमा सहयोग गरेको अवस्थामा उनीविरुद्ध मुद्दा नचल्न सक्छ । तर, उनले अनुसन्धानमा असहयोग गर्ने पीडकविरुद्धको प्रमाण छुपाउन गरेको अवस्थामा उनीविरुद्ध मुद्दा चल्न पनि सक्छ ।
बलात्कृत युवतीलाई न्याय खोज्नको लागि एक वर्षे हदम्याद तगारो बनेको छ । यो प्रावधान ठिकै हो की हटाउनु पर्छ भन्ने लाग्छ तपाईँलाई ? उमेर पुगेका अर्थात् १८ वर्षमाथिका व्यक्तिको हकमा एक हदसम्म हदम्याद ठिक हो । तर, कैयौँ महिलाहरू यही हदम्यादका कारण थप पीडामा पनि छन् । हदम्यादले पीडितलाई नुनचुक छर्के झै पनि बनाएको छ । तर, कैयौँ व्यक्तिहरुले बलात्कारको मुद्दालाई आफ्नो स्वार्थ अनुसार प्रयोग गरेको पनि पाइएको छ । पहिला जाहेरी दिने अनि पछि मुद्दा चल्दै गएपछि अदालतमा जाने होस्टायल हुने बार्गेनिङ गर्ने माध्यम पनि बनेका छन् । यस्ता मुद्दाहरु । कतिले पछि कुरा नमिलेपछि पुरुषलाई फसाउने नियतले पनि पुराना घटनालाई कोट्याएर बलात्कारको मुद्दा लगाउने गरेको भेटिन्छ । त्यसैले एक वर्षे हदम्याद ठिक छ । राज्यमा सबै मानिसलाई संविधानले प्रदान गरेको समानताको हक हो, न्यायको हक हो । त्यसमा पुरुष पनि महिला पनि दुबैलाई न्याय बराबर हुनुपर्छ । तर अब बालबालिकाको सन्दर्भमा चाहिँ हदम्याद अलि बढाउनै पर्छ । उनी १८ वर्ष पुगेको एक वर्षपछि मुद्दा दिन पाउने भन्ने प्रावधान छ । त्यसलाई संशोधन गरेर अवधि बढाउनु पर्छ भन्ने लाग्छ मलाई ।
अर्को पाटो, तपाई पल शाहविरुद्धको केशमा पीडित किशोरीको पक्षबाट वकालत गर्दै आउनुभएको थियो । अन्तिममा पीडितले आफ्नो बयान फेरिन र पीडितको बाबुले पनि बयान फेरे । अब यो मुद्दा के हुन्छ ? एउटा समस्या चाहिँ के छ भिक्टिम रुँदै कराउँदै आउँछन्, सहयोग गर्नु पर्यो भन्छन्, विभिन्न माध्यमहरूबाट तपाईँहरू जस्ता साथीहरूले हेर्दिनुस् न सहयोग गर्दिनुस् भन्नु हुन्छ । हेरिन्छ, अनुसन्धान गर्न, प्रमाण संकलन गर्न थुप्रै समय र पैसा खर्च गरिन्छ । तर, जब न्यायिक प्रक्रियामा जान्छ, अदालतमा न्याय निरुपण गर्ने बेला हुन्छ त्यति बेला चाहिँ धेरै मुद्दाहरुमा महिलाहरू होस्टायल भइदिने, सत्य बङ्गयाइदिने प्रवृत्ति झाँगिँदै गएको छ । अदालतमा गइसकेपछि सुरुदेखिको मिहिनेत खेर जान्छ । त्यसैले अबबाट पीडितले सुरुमा उजुरी दिँदा, बयानका क्रममा जे जे बोलेको छ, जे जे बाहिर ल्याएको छ, त्यो कुरालाई प्रहरीले डकुमेन्टेसन गर्नुपर्छ । भोलि अदालतमा गएर पीडितले बयान फेर्दैमा मुद्दा फेल हुने अवस्था नआओस् ।
यो त तपाईँको अनुभव र सुझाव भयो । मेरो मुख्य प्रश्न पलको मुद्दामा बयान फेरेका कारण अब के हुनसक्छ ? बयान फेर्दैमा मुद्दा फेल नै हुन्छ भन्ने होइन । तर केही हदसम्म कमजोर बन्न सक्छ । पीडितले सुरुमा दिएको बयान नै प्रमुख हुन्छ । तर अब अदालतमा चाहिँ के व्याख्या हुन्छ भने अदालतमा आएर त्यो कुरा जब भन्न सक्दैन भने सुरुमा त बाहिर बोलेको कुराले के अर्थ रहन्छ र भन्ने व्याख्या चाहिँ हुनसक्छ । धेरै मुद्दाहरुमा भएको पनि छ । त्यसकारणले सुरुमा दिएको बयान पनि महत्तपूर्ण नै हुन्छ । सुरुको बयानले मुद्दा बनेको हुन्छ त्यत्रो राज्यको साधन स्रोत, प्रहरी, सरकारी वकिल, मानव स्रोत साधनहरु परिचालन भएका हुन्छन्, विधिविज्ञान प्रयोगशालामा परीक्षण भएका स्वास्थ्य रिपोर्टहरु हुन्छन् । त्यसमा खर्च भएको हुन्छ । राज्यलाई धेरै जनशक्ति र स्रोतसाधन प्रयोग भएको हुन्छ । अब ती सबै चिजलाई इग्नोर गर्न त पक्का नमिल्ला ।
यस्तो कुनै उदाहरण छ, पीडितले अदालतमा पुगेर बयान फेरेपछि बलात्कारको आरोप लागेको व्यक्तिले उन्मुक्ति पाएको होस् । छ, नि पूर्वसभामुख कृष्णबहादुर महराको त्यत्रो चर्चित मुद्दा नै छ नि । यो मुद्दामा सबभन्दा पहिला भिक्टीमले जाहेरी दिनु भयो मलाई यस्तो भयो भनेर । त्यसआधारमा महरालाई पुर्पक्षका लागि थुनामा राखियो । तर पछि पीडित भनिएकी महिलाले अदालतमा आएर मलाई केही पनि भएको होइन मलाई प्रहरीले जर्बजस्ती जाहेरी दिन लगाएको भनेर बयान फेरेपछि महरा जेल मुक्त भएका थिए ।
अनि यसरी पीडितले बयान फेरे पनि कोही बलात्कार आरोपी जेल गएको केश छ ? छ, पीडितले बयान फेरे पनि बलात्कार आरोपी जेल गएको घटना धेरै छ । एउटा चाहिँ झापाको मुद्दामा जस्तो हाडनाता करणी मुद्दा थियो छोरीले पहिला मलाई बाबाले यसरी रेफ गर्यो भनेर आमा छोरी मिलेर मुद्दा दिएका थिए । पछि घरपरिवार र आफन्तको दबाबपछि पीडित बालिकाले अदालतमा आएर बयान फेरिन । सुरुमा जिल्ला अदालतले ती आरोपीलाई सफाइ दिएको थियो । तर, पछि उच्च अदालतले उल्ट्याइदियो र सर्वोच्च अदालतले त्यसमा थप व्याख्या गर्दै यदि पीडितले अदालतमा आएर बयान फेरेकै आधारले मुद्दामा उन्मुक्ति नहुने भनिदियो । अहिले ती पुरुष जेलमा छन् ।
पल शाहको केसमा पीडितले बयान फेरे पनि फैसला उल्टिन सक्ने सम्भावना कम छ भन्ने तपाईँको आँकलन हो ? मलाई चाहिँ के लाग्छ भने सुरुमा पीडितको घरमा गएर प्रहरीले जाहेरी ल्याएको त होइन । उ नै प्रहरी चौकीमा गएर जायरी दिएकी हुन, उनकै बुबा प्रहरी चौकीमा आएर हामीलाई अन्याय भयो भनेर जाहेरी दिएका हुन् । त्यही अनुसार उनीहरूले बयान दिएका छन् । त्यही अनुसार मुद्दा निर्माण गरेका छन्, त्यही अनुसार घटना विवरण कागजहरु तयार भएका छन् । त्यही अनुसार मेडिकल रिर्पोट तयार भएको यी सबै प्रमाणहरु चाहिँ यही मुद्दा तत्काल प्राप्त प्रमाणबाट कसुरदार हो भनेर जिल्ला अदालतले चाहिँ थुनामा राखेको अवस्था हो अब पछि त्यसमा थप एउटा प्रमाणित पक्ष भनेको बकपत्रमा उनीहरू मुद्दा स्थापित हुँदैमा तुरुन्तै ‘इस्टाबिलिस्’ नहुने भन्ने मलाई चाहिँ लाग्दैन । नाबालिगको सन्दर्भमा विभिन्न दबाब प्रलोभनहरुले काम गरेका अरु मुद्दाहरु नि धेरै छन् । ती मुद्दाहरुको नजीरलाई पनि अदालतले हेर्छ र घटना घटेको सन्दर्भमा द्धिविधा छैन भन्ने अन्य प्रमाणहरुबाट देखियो भने अदालतले जललाई जेल सजाय तोक्नसक्छ ।
(प्रस्तुती : मौसमी राना)