काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले केही दिन अघि गोलिकाण्ड मच्चिएको टेक्सस राज्यको विद्यालयको भ्रमण गर्ने भएका छन् ।
२१ जनाको ज्यान जानेगरी भएको सो नरसंहारको निरीक्षणका लागि उनी यही आइतबार त्यहाँ जान लागेको जनाइएको छ ।
अमेरिकी प्रशासन ह्वाइट हाउसले दिएको जानकारीअनुसार राष्ट्रपति बाइडेन र अमेरिकी प्रथम महिला जिल बाइडेनले आइतबार सो विद्यालयको भ्रमण गर्नेछन् ।
उनीहरुले उक्त नरसंहारमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा उनीहरुका परिवारलाई समवेदना व्यक्त गर्न त्यहाँ जान लागेको जनाइएको छ ।
केही दिनअघि अमेरिकाको टेक्सस राज्यमा रहेको प्राथमिक विद्यालयमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएको थियो ।
गत मंगलबार दिउँसो भएको घटनामा मारिनेमा १८ जना बालबालिका समेत रहेका थिए । घटनामा कैयौँ घाइते भएका थिए ।
टेक्सस राज्यको युभाल्डेस्थित रोब प्राथमिक विद्यालयमा एकजना किशोरले गोली चलाउँदा घटना भएको हो ।