समाचार

२४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण

By खबरहब

May 27, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा तीन हजार ३८७ मा कोरोना परीक्षण गर्दा १२ जनामा मात्र सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १२४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३७ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।

शून्य सङ्क्रमित हुने ३० जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.२ प्रतिशत छ । नेपालमा प्रति दश लाखमा ३९३.४ को निधन भएको छ । आज ६६ हजार १८१ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म होम आइसोलेसनमा १२३, संस्थागत आइसोलेसनमा एक र सघन उपचार कक्ष (आइसियु)मा एक जनाको उपचार भइरहेको छ ।