फाइल फोटो

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भएका बम आक्रमणको राष्ट्रसंघका महासचिवद्वारा निन्दा

By रासस

May 27, 2022

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा भर्खरै भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन् । आक्रमणमा हजारा शिया समुदायका सदस्यहरू र अन्य नागरिकको ज्यान गएको थियो ।

‘महासचिवले अफगानिस्तानको मजार ए शरीफ शहरमा यात्रुवाहक सवारी साधनहरू र काबुल शहरको शरीफ हजरत जकारिया मस्जिदलगायत भर्खरै भएका आक्रमणहरूको निन्दा गर्दै  दुःख व्यक्त गरेको’ महासचिवका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

गुटेरेसले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

महासचिवले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्र रूपमा आफ्नो धर्मको पालना गर्ने अधिकार सुनिश्चित गर्न पनि सबै पक्षहरूलाई आह्वान समेत गरेका छन् ।

इस्लामिक स्टेट (आईएस) आतंकवादी समूहले गराएको शृङ्खलाबद्ध बम आक्रमणबाट अफगानिस्तान प्रभावित भएको बेला राष्ट्रसंघका महासचिवको यो भनाइ सार्वजनिक भएको हो ।

काबुलमा प्रार्थनाका क्रममा मस्जिदमा भएको विस्फोटमा कम्तीमा पाँच जना श्रद्धालुको मृत्यु हुनाको साथै अन्य १७ जना घाइते भएका थिए ।

त्यस्तै, मजार ए शरीफको तीनवटा भ्यान र बसमा लगातार विस्फोटन हुँदा नौ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका थिए ।