नेपाल प्राकृतिक स्रोतको धनी मूलुक भएकै कारणले पनि पर्यटन क्षेत्रको राम्रो सम्भावना छ। सम्भावना हुँदाहुँदै पनि विविध कारणबाट पर्यटन क्षेत्रको विकास जुन गतिमा हुनुपर्ने थियो, त्यो भइरहेको पाइँदैन। नेपालको पर्यटन क्षेत्रको अवस्था, चुनौती र समस्यासँगै बोकेको प्रचुर सम्भावनाका विषयमा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलसँग खबरहबका लागि सन्जिना श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :
नेपालको पर्यटन क्षेत्रको अहिलेको अवस्था कस्तो छ ? पर्यटन गतिविधि कत्तिको बढिरहेका छन् ? नेपालको पर्यटन क्षेत्रको कुरा गर्नुपर्दा सरकार एकातिर छ। पर्यटन व्यवसायी अर्कातिर छन्। नीति एकातिर छ अनि काम अर्कोतिरबाट भइरहेको छ। नीति, कार्यक्रम, पर्यटन व्यवसायी तारतम्य मिलेको छैन। त्यसको लागि एकद्वार प्रणालीबाट नीति, कार्यक्रम र नेपालको परिस्थितीलाई हेरेर सरकार पनि अनुकुल भएर हिँडुनुपर्छ। व्यवसायी पनि सरकारले ल्याएका नीतिलाई अनुकुलतामा ढाल्नुपर्छ। यो चाहिँ व्यवथापकीय पक्ष भयो। अर्को कुरा हामी कोभिडका कारण लथालिंग भएका छौं। यो वर्षमा पनि पछिल्लो समयको जस्तो आन्तरिक पर्यटन भनेर अभियान देशभर चल्यो, पर्यटन क्षेत्रमा लागेका व्यवसायीले अंगिकार गरे, त्यसले केही राहत भने भएको छ।
यथार्थमा नेपालको पर्यटकीय क्षेत्रको सम्भावनाअनुसार प्रतिफल आउने काम भएको छ त ? पर्यटकीय गतिविधि भनेको घुमफिरसँगसँगै अन्त्यमा गाँस र बाँसको पनि कुरा आउँछ। यसको लागि पर्यटन र कृषिलाई सँगसँगै लिएर जानुपर्छ। नेपालमा पर्यटन व्यवसायको कुरा गर्नुपर्दा होटल व्यवसाय एक नम्बरमा आउँछ। तर, होटललाई कृषि क्षेत्रसँग बाधिदिनु पर्दछ। फाइभ स्टार होटललाई सबै मापदण्ड तोकिएको छ। तर, तरकारीहरु कहाँबाट ल्याउने, कृषि सामाग्री कहाँबाट ल्याउने, कस्तो सामग्री ल्याउने भन्ने कुरामा चाहिँ बाँधिनुभएको छैन। फाइभ स्टार होटललाई कृषिलाई पनि बाँधिदियो भने कृषि र पर्यटनसँगसँगै अगाडि जानसक्छ।
अनि यो सम्भावनाबीच अहिलेको पर्यटन गतिविधिलाई कसरी नियाल्नु भएको छ ? नामै किटेर भन्नुपर्छ, नाट्टामा हाम्रो अच्युत गुरागाई आउनुभयो। देशभ उहाँले पर्यटकीय गतिविधि संचालन गर्न मद्त गर्नुभयो। नाट्टाका शाखा विभिन्न ठाउँमा खोल्नुभयो। हानका साथीलाई प्रेरित गर्नुभयो। यसमा अहम भूमिका नेपाल टुरिज्म बोर्डका सीईओ डा. धनञ्जय रेग्मीले खेल्नुभयो। उहाँले पर्यटकीय गतिविधिका लागि सेल्फमिसनका लागि हामी बाहिर जाने होइन, हामी नेपालमै बाहिरका मान्छेलाई नेपालमै बोलाएर नेपाल देखाउनुपर्छ भनेर उहाँले एउटा अभियान सुरु गर्नुभयो। फलस्वरुप हामीले देशभर ट्राभल मार्टहरु गरियो। यस्तै खालका गतिविधि आगामी दिनमा पनि हुनसक्ने र नेपालका जति पनि गन्तव्य छन्, त्यसको पहिचान, प्रचारप्रसार गर्न सक्यौ भने नेपालमा पर्यटन क्षेत्रमा १ नम्बरमा आउँन सक्छ। यसको सम्भावना यही हो। धेरै दृष्टिकोणले यसको सम्भावना नियाल्न सक्छौ। अहिले पश्चिमी देशमा संस्कृतिको पढाई हुन थालेको छ। संस्कृतको प्रार्दुभाव कहाँ भयो ? यस विषयमा विद्यावारिधी गर्न आउने हो भने , नेपालको आयुर्वेदको कुरा गर्नुपर्दा बेसारको यत्रो धेरै प्रचार भयो, हाम्रो पूर्वप्रधानमन्त्री बोल्दिनाले, कोरोनाको दबाई भनेर विश्वभर खाइयो। जडिबुटीकै कुरा गर्नुपर्दा यसको पनि खोज गर्ने हो भनेको हाम्रै हिमाल हो, हाम्रै पहाड हो। यी कुराको प्रचारप्रसार हुनुपर्छ। त्यसैगरी योगविद्या, बाबा रामदेवको योगविद्या विश्वभर लागु भएको छ। हरेक ठाउँमा योगा गरिन्छ। पश्चिमी देशमा यसको पुरै प्रसार भएको छ। तर, यसको पनि सोधखोज गर्ने हो भने ऋषिमुनीले गरेको चिज हो नि त। ऋषिमुनीहरुले कहाँ गरे त ? भन्दाखेरी हाम्रै खोलानालामा, धार्मिक धरोहरमा योगप्राणायम गर्थे। यसको सोधखोज गर्न पनि विदेशी आउने सम्भावना छ। विद्यावारिधी गर्ने सम्भावनाको प्रचारप्रसार ग¥यौ भने त्यसको लागि मिट गर्ने हामीले ठाउँ दियौ भने यो किसिमले पनि हामीले प्रचारप्रसार गर्न सक्छौ।
अब यसको लागि के कसरी काम गर्नुपर्ला ? तपाईको योजना के–के छन् ? हामी फोरमहरु पाउँदा बोल्ने गर्छौ यस्ता कुरामा। पर्यटनको विषयमा रुचि राख्ने व्यक्तित्वसँग चर्चा गर्छौ। यसलाई रियलाइजेशन गर्ने हो भने तथ्य पनि भेटिन्छ। धार्मिक दृष्टिकोणले पनि नेपाल त्यत्तिकै महत्वपूर्ण छ। भौगोलिक र प्राकृतिक रुपले कुरा गर्ने हो भने हामीसँग छ। अरु देशमा कृत्रिम कुरा प्राकृतिक जस्तो देखाइन्छ हामीसँग प्राकृतिक रुपमा नै छ। रहनसहन, जातजाति, विभिन्न धर्मसंस्कृति, भेषभुषा जुन विविधता छ। लोभ्याउने किसिमको छ। विश्वका त्यस्ता सम्पदाको कुरा गर्नुहुन्छ भने नेपालमा थुप्रै सम्पदा विश्वमा सूचिकृत भएका छन्। ती कुराको प्रचारप्रसार हुन सक्छन्। यसको प्रचारप्रसार हामी बाहिर गएर होइन कि विदेशका मानिसलाई यहाँ बोलाएर यसको प्रचारप्रसार गर्नुपर्छ। केही कानुन जस्तो सौराहको कुरा गर्नुपर्दा नेपालमा पछिल्लो समयको गन्तव्य भनेको निकुञ्ज क्षेत्रमा देखिएको छ, वाइल्डलाइफको कुरा। रारा, से–फोक्सुण्डोको कुरा। यिनीहरुलाई पर्यटकीय गन्तव्य मानिएको छ, तर रारामा गएर बस्न खाने व्यस्था भने छैन। रारा नगएको मान्छेले पोखराको लेकसाइड भनेर बुझ्छ। रारामा बस्ने, खाने व्यवस्थाको विकल्प नहुँदासम्म त्यसलाई नखोलौ। रारा खोल्नका लागि कम्तिमा गएको पर्यटकले दिँउसोभरी रारा घुम्यो, पहाड चढ्यो भने पनि साँझ फर्किएर आइसकेपछि सुत्न र खान त राम्रो पाउँनुपर्यो नि त।
पर्यटन क्षेत्रको विकासका लागि नाटा बाँके च्याप्टरले कस्तो योगदान पुर्याइरहेको छ ? पछिल्लो समय नेपालगञ्ज र वरपरका पर्यटन व्यवसायीलाई गोलबद्ध गर्ने काम गर्यौं। पहिलो कुरा त बाँके र नेपालगञ्जका पर्यटनव्यवसायी गोलबद्ध भएका छौं। दोस्रो कुरा नेपाल टुरिजम बोर्ड, स्थानीय सरकार, प्रदेशिय सरकारसँग मिलेर पर्यटकीय गतिविधिहरु गरेका छौं। जस्तो नामै लिएर भन्नुपर्दा वेस्टर्न ट्राभल मार्ट भनेर नेपालगञ्जमा भर्खरै सम्पन्न गर्यौं। भारतका विभिन्न सहरबाट ७० टुर–अपरेटरलाई बोलाएर बाँके, बर्दिया र वरपरको क्षेत्रको पर्यटन व्यवसायीसँग एकआपसमा चिनजान गरायौं। सँगसँगै नेपालगञ्जमा पर्यटन तथा होटल अध्ययन प्रतिष्ठान न्याथम, जहाँ चाहीँ पर्यटन क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादन गर्ने एउटा विद्यालयको स्थापना भएको छ। त्यो पनि हाम्रो पहलमा सरकारसँग हारगुहार गर्दै ल्याएका छौं, जुन निर्माणको क्रममा छ। जुन अर्को वर्षबाट शैक्षिक सत्र सुरु हुन्छ। अन्तरप्रदेश हवाई उडान सुरु भएको छ। विशेष गरेर पोखराबाट बढी हुन्छ। हामीले दुई वर्ष अगाडि नाट्टा बाँकेकै पहलमा पहिलो उडान नेपागञ्जदेखि पोखरा सुरु गरेका हौँ। हामीले १६ ओटा चार्टर्ड –फ्लाइट लिएर सुरु गरेका थियौ। अहिले चाहिँ संस्थागत भएको छ। अरु एयरलायन्सले पनि उडान सुरु गर्नुभएको छ। नेपालगञ्जबाट बुद्धले एटीआर चलाइरहेको छ। दैनिक ५० यात्रु जहाजमार्फत् नेपालगञ्जबाट पोखरा र पोखराबाट नेपालगञ्ज आइरहेका छन्, यो अर्को उपलब्धि हो। छेउछाउँका गन्तव्यको परिचय गराउँने काम गरिरहेका छौ। अब हामी लगत्तै बागेश्वरीमा आरतीको प्रारम्भ गर्दैछौ। रारा फेस्टिभल हामी मंसिरमा गर्ने तयारी गरिरहेका छौं।
पर्यटन संघसंस्थासँग कत्तिको सहकार्य गरिरहनुभएको छ ? हामीलाई टुरिजम बोर्डबाट राम्रो सहयोग भइरहेको छ। हामीले टुरिजम बोर्डसँग सहकार्य गरिरहेका छौँ। पर्यटन क्षेत्रमा मैले बुझ्दा परम्परागत रुपमा पर्यटन क्षेत्रमा काम गर्ने व्यापारीको एकप्रकारको सिन्डीकेट रहेको छ। उनीहरुबीच मात्रै सम्वाद हुने, कार्यक्रम हुने, के कार्यक्रम हुन्छ त्यो पनि थाहा छैन। बाँकी क्षेत्रमा सम्वाद नहुने, हामी त्यो कुरा चिर्न लागेका छौं।
पर्यटनबारे दलगत चिन्ता, चासो र योजना कत्तिको पाउनुभएको छ ? यो चाहिँ गज्जबको प्रश्न सोध्नुभयो। पर्यटन क्षेत्रलाई चाहिँदा सम्झने हो नचाहिँदा सम्झेको मैले पाएको छैन। तर, अहिले राजनीतिक दलले पनि पर्यटन विभाग भनेर कुन अर्थमा ल्याउन खोज्नुभएको हो। भोलिको दिनमा स्पष्ट होला। तर, कम्तिमा सम्झेको चाहिँ देखिएको छ। पर्यटनभित्र राजनीति छिर्नु हुँदैन मेरो मान्यता हो। तर, राजनीतिबाटै पर्यटनलाई अगाडि बढाउन सकिन्छ भन्ने त्यो पनि मान्यता हो।
दलभित्रै छिरेर पर्यटनबारे बृहत अभियान चलाउने योजना केही छ, तपाईको ? त्यस्तो होइन जहाँ मैले आस्था राखेको हुन्छु। आस्था राखेको ठाउँमा पार्टीले पर्यटन विभाग गठन गर्यो अथवा पर्यटन क्षेत्रमा काम गर्न खोज्यो भने हामीलाई पनि भूमिका दियो भने काम गर्न सकिन्छ भन्ने हो। एउटा चाहिँ परम्परा के छ भने यो देशको राजधानी काठमाडौँ, काठमाडौँ भन्दा बाहिर पर्यटक भर्खरै बाहिर निस्किएको हो। पोखरा हुँदै सौरहासम्म आइपुगेको थियो। त्यसलाई देशभर चलायमान भएको छ, पर्यटन। तर, पार्टीले त्यस किसिमको पर्यटन विभाग पर्यटकीय गतिविधि गर्छ भने राजधानी ठूला सहर केन्द्रित होइन कि कर्मचाहिँ मोफसलमा गर्ने काम गर्ने विभागमा चाहिँ राजधानीको मान्छे राखियो भने त्यो कहिल्यै पनि मिल्दैन। मोफसलका साथीलाई पनि समेट्नुपर्छ भन्ने धारणा हो।
सुरु गरेका पर्यटन कार्यक्रम र नयाँ कार्यक्रम गर्ने योजना के–के छन् ? गरेका छौं भन्दाखेरी चाहिँ टुर दि ठाकुरद्वारा एउटा हो। दोस्रो, नेपागञ्ज–पोखरा हवाई उडानको सुरुवात अर्को वेस्टर्न ट्राभल मार्ट हो। जुन नेपालगञ्जमा आयोजना गरेका पर्यटन मेला। यिनी सम्झन लायक हुन्। यी गतिविधिले पछिसम्म पनि नतिजा पाइराख्छौ र भोलिका दिनमा म नेपालगञ्जमा बसेर काम गरिहँदा मेरो प्रदेश लुम्बिनीमा पर्छ। तर, पनि म कर्णाली प्रदेशसँग मिलेर जानुपर्छ। कर्णाली प्रदेशलाई हामी नेपालगञ्जबाट कर्णाली प्रदेशको प्रवद्र्धनमा लाग्नुपर्छ, नेपालगञ्जको पर्यटकीय गतिविधि कर्णाली प्रदेशको सुदूरपश्चिमसँग जोडिएको छ। नेपालगञ्ज ट्रान्जिट भएर त्यहाँको पर्यटनलाई बढावा गर्न सक्छौ भन्ने हो। जस्तो रारामा हामी केही गर्न सक्नेकाम थुप्रै छन्। कर्णाली, भेरी, राप्तीमा हामी केही गर्न सकिन्छ।
यस क्षेत्रमा मठमन्दिर छन्, आस्था राख्नेहरुलाई हाम्रो मन्दिरसम्म पुर्याउन सक्छौ। वन्यजन्तुको दृष्टिकोणले वन्यजन्तुको संरक्षण गर्दै यिनीहरुको अवलोकन भ्रमणलाई अझै अनुशासित र मर्यादित बनाउँन सक्छौ। यो सरकारसँग पर्यटन क्षेत्रसँग काम गरेका सघसंस्थासँग मिलेर जाने कुरा हो। नीतिहरु सहज भयो भने काम गर्न सहज हुन्छ। नीतिलाई सच्याउँदै, अनुकुल बनाउँदै, मैले नीतिको कुरा किन गरेको हो भने रारामा रिसोर्ट, होटल खोल्न पाइदैन। रारा निकुञ्ज हो। सरकारले भन्छ रारा घुम्न जाऔ। तर, कहाँ बस्ने कहाँ खाने। एकजना लेखकले लेख्नुभएको थियो, जुन मलाई एकदमै चित्त बुझेको थियो। पूर्वमा एकदमै हस्पीटालीटी राम्रो छ। तर, मनोरम दृश्यहरु पश्चिममा छन्। त्यहाँ अस्पिटालीटी शुन्य छ। यसको मतलब के हो भने हामी पर्यटन क्षेत्रमा लागेका मानिस अतिथी सत्कार गर्न जानेका छैनौ। जाने पनि सिकेका छैनौँ। जुन चाहिँ हामीले सिक्नुपर्छ। अझ कर्णाली प्रदेशमा त जिरो छ। ग्राहकलाई कसरी रेस्पोन्स गर्ने, हाउस किपिङ कसरी गर्ने, जुन तालिम चाहिन्छ, तालिम दिएर मनोरम दृश्य र म्यानपावरलाई सँगसँगै लिएर जाने हो। यो क्षेत्रलाई अगाडि लैजान सकिन्छ।
सम्भावना थाहा हुँदाहुँदै पनि कार्यन्वयनको पक्ष किन फितलो भएको होला जस्तो लाग्छ, तपाईँलाई ? अहिले प्रदेश सरकार र केन्द्रीय सरकारको तादम्यता कता कता मिलेको छैन। यो स्थानीय सरकारलाई पावरफुल बनाइसकेपछि कतिपय कुरा केन्द्रीय सरकारले आफै राखेको छ। जुन लोकलस्तरमा गर्न सक्दैन। जस्तै निकुञ्जका कुरा बाझिँएका छन्। पर्यटन, कृषिका कुरा त्यही गएर ठोकिएका छन्। बाझिएका छन्। यी बाझिने कुरालाई सहज बनाउँनुपर्यो। जस्तो खप्तडमा २२ वटा पाटन छन्। हामी गल्फकोट देख्छौ नि त्यहाँ प्राकृतिक रुपमा गल्फकोट छ। तर, निकुञ्ज हो। अब खप्तड नजिकै विमानस्थल बनाइदिने, त्यसको प्रचारप्रसार गर्ने, गल्फकोटको पर्याप्त ठाउँ छ भने त्यसको अनुसन्धान गर्ने, गल्फकोट संचालनमा ल्याउनका लागि सरकारले पहल गर्ने, देशविदेशमा पनि यसको प्रचारप्रसार गर्ने हो भने जति पनि गल्फ खेलाडी सोझै जहाज लिएर हाम्रो देशमा गल्फ खेल्न आउँछन्। हिमालको तल, प्राकृतिक पाटनमा गल्फ खेल्न पाइन्छ। हामी डलर सञ्चित गर्न सकेनौ भनेर रोइरहेका छौ। दैनिक एक जहाज मान्छे नेपालमा गल्फ खेल्न आए भने कल्पना गरौ न हामी कति डलर आर्जन गर्न सक्छौ ? चितवनको नारायणी नदीमा मोटरबोट चलाउन सक्छौ, चलिरहेका छन्। तर, त्यहाँ भन्दा राम्रो मोटरबोट कहाँ चल्छ भने बर्दियाको चिसापानीमा। चिसापानीमा मोटरक्रुज राख्छु भन्दा पनि पाइँदैन। निकुञ्ज बाहिर राख्छौ भने पनि पाइदैन। बफरजोनमा पनि पाइदैन। कानुन त बनाइदिनुपर्यो। जस्तो बाँकेकै राप्ति नदीमा, नदी सबै निकुञ्जमा छ। पर्यटकीय गतिविधि निकुञ्जमा हुन्छन्। तर, मोटरक्रुज र राफ्टिङ गर्न लाग्यो भने अफ्ठ्यारो छ।
अब पर्यटन क्षेत्रको विकासका लागि नाट्टा बाके च्याप्टरले के गरिरहेको छ ? पर्यटन क्षेत्रमा क्रमश गर्ने कुरा रहेछ। पर्यटन भनेको हल्ला गर्ने, प्रचारप्रसार गर्ने हो। हामी छिट्टै नै नेपालगञ्जमा साउथ एसियाका टुर-अपरेटरलाई नेपागञ्जमा बोलाएर कर्णाली र सुदुरपश्चिम घुमाएर फर्काउने अभियानमा छौ। यो अभियान सफल भयो भने यस क्षेत्रको पर्यटन विकासका लागि धेरै ठूलो सहयोग पुग्छ भन्ने हामीले विश्वास लिएका छौँ। पहिलो एजेण्डा भनेकै यही हो।