सामान्यतया गर्भ रहेको २० हप्ताअघिको अवस्थामा गर्भ खेर जानसक्छ। गर्भ रहेको पहिलो तीन महिनामा विभिन्न कारणले गर्भ खेर जाने सम्भावना बढी हुन्छ। गर्भधारणको पहिलो २० दिनमा महिलाले आफू गर्भवती भएको थाहा नै नपाउने सम्भावना पनि उत्तिकै रहन्छ।
पछिल्लो समय नेपालमा यो समस्या धेरै बढेको तथ्याङक पनि सार्वजनिक भइरहेका छन्। अस्पतालमा बच्चा खेर जाने समस्या लिएर धेरैजना आएका छन्। कुनै रिलेटेड डिजिज प्रेसर, डाइबेटिज र क्रोमोजोनल एबनर्मल जस्ता कारणले बच्चा खेर गएको पाइन्छ।
कस्ता महिलामा गर्भ खेर जान सक्छ ?
कुनै गर्भवतीले आराम नगरेर पनि गर्भ खेर गएको पाइन्छ। घरदेखि बाहिर काम गर्ने धेरै छन्। पाठेघरको एबनर्मल भन्छौँ, जस्तो पाठेघरमा दुईवटा कोठा हुन्छ यस्तो अवस्थामा पनि खेर जान्छ। योसँगै अरु कारण पनि हुन्छन्। कसैको पाठेघरको मुखको खराबी भएर तीन महिनापछि पनि खेर जाने हुन्छ।
कहिलेकाँही पाठेघरमा बच्चा नबसेर नली या अण्डाशयमा गर्भ रहनसक्छ। पाठेघरभन्दा बाहिर बच्चा बस्यो भने पनि खेर जाने सम्भावना हुन्छ।
कसरी बच्चा पाठेघर भन्दा बाहिर बस्छ ? कुनै महिलालाई पाठेघरको इन्फेक्सनको कारणले पनि यस्तो हुन्छ। आजभोलि अत्यावश्यक (इमर्जेन्सी) पिल्सको बढी प्रयोगका कारणले गर्दा विवाहपछि बच्चा रह्यो भने पनि पाठेघरमा नरहेर बच्चा नलीमा गएर बस्ने सम्भावना बढी हुन्छ।
यसमा पनि डिपो, नरप्लान्ट र कन्डम प्रयोग गर्ने भने बाहिर रहने सम्भावना रहँदैन। तर, कहिलेकाहीँ पाठेघरभित्र राख्ने आयूसीडी राखेको अवस्थामा बच्चा पाठेघरभित्र नरहेर बाहिर बसेको पाइन्छ।
उमेर समूह अर्को कारण
गर्भ खेर जाने सम्भावना यही उमेर समूहका लागि हुन्छ भनेर भन्न सकिँदैन। नेपालमा गर्भ रहने भनेको २० देखि ३० वर्षको उमेर हो। आजभोलि बिहे गर्ने पनि ढिला र बच्चा पनि ढिला जन्माउने प्रचलन बढ्दै गएकाले ३० बर्षपछि धेरै महिलाले सन्तान जन्माउने योजना बनाउनुहुन्छ। उमेर धेरै हुँदा पनि जोखिम नै हुन्छ।
३५ वर्षभन्दा माथिका गर्भवती महिलामा गर्भ खेर जाने सम्भावना धेरै हुन्छ भने कतिपय अवस्थामा बच्चा राम्रोसँग नबनेकाले खेर जान सक्छ। आमाले थाहा नपाएर डाक्टरको सल्लाहबिना औषधि सेवन गर्नाले पनि बच्चा खेर जाने सम्भावना हुन्छ।
गर्भ खेर जाँदा कस्ता लक्षण देखिन्छन् ?
अहिले महिनावारी नियमित हुने विवाहित र अविवाहित पनि गर्भवती भएर अस्पतालमा आएको पाइन्छ। कसैको कुनै महिनाको १ गते महिनावारी भयो। तर, अर्को महिनाको पनि १ गते हुनुपर्नेमा ३–४ दिन पर धकेलियो भने पिसाबको जाँच गराउनु आवश्यक हुन्छ।
त्यसका लागि अस्पताल जानैपर्छ भन्ने छैन। औषधि पसलमा एउटा किट पाइन्छ। किटमार्फत् जाँच गर्दा गर्भवती भएको लक्षण देखिएमा अस्पताल गइहाल्नुपर्छ।
त्यसपछि गर्भावस्थाको पहिलो चरणमा कस्ता खालका सावधानी अपनाउने र कस्तो ख्याल गर्ने भन्नेबारे चिकित्सकहरुको सल्लाह लिनुपर्छ।
यदि कुनै कुराको इमर्जेन्सी पर्यो भने के गर्ने भनेर चिकित्सकले आवश्यक सल्लाह दिनुहुन्छ। कहिलेकाहीँ रगत धेरै बगेर थाहा नपाएर गर्भवतीको ज्यानसमेत जाने गरेको छ। त्यसैले समयमै ध्यान दियो भने बच्चा खेर जानबाट बच्न सकिन्छ।
सावधानी नअपनाउँदाको जोखिम
कसैकसैमा गर्भवती भएको महिनौँ बित्दासमेत थाहा नहुने अवस्था आउन सक्छ। किनकी, उनीहरुलाई कुनै समस्या नै देखिँदैन। तर, सबै जनालाई उस्तै समस्या हुन्छ भन्ने हुँदैन।
पाठेघरमा समस्या भएर मात्र होइन, ब्लड प्रेसर बढी भएर महिलाको ज्यानसमेत जाने जोखिम हुन्छ। कसैलाई गर्भावस्थामा मुटुको रोग पत्ता नलागेर पनि यसैका कारण ज्यान जाने सम्भावना हुन्छ।
पेट दुख्ने, यौनीमा रगत देखिने, टाउको दुख्नेजस्ता समस्या देखियो भने अस्पताल गएर समयमै चेकजाँच गर्नु उत्तम हुन्छ।
गर्भ खेर गएपछिको उपचार के ?
यदि गर्भ खेर गइहाल्यो भने पनि पहिले गर्भ के कारणले खेर गएको हो भनेर पत्ता लगाउने प्रयास गर्नुपर्छ। अर्को गर्भावस्थामा कुनै समस्या हुन नदिन सबै कुराको समयमा नै परीक्षण गर्नुपर्छ।
बच्चा खेर गएपछि शरीरलाई सफा राख्नुपर्छ। गर्भवती भएको थाहा भए डाक्टरको सल्लाह अनुसार चेकजाँच गर्नुपर्छ।
पटकपटक गर्भ खेर जाने किन हुन्छ ? यदि पहिलो बच्चा खेर गएको छ भने दोस्रोपटक पनि खेर जाने सम्भावना रहन्छ। तर, पहिलो बच्चा के कारणले खेर गएको हो भन्ने कुरामा भरपर्छ।
त्यसैले महिनावारी रोकिनासाथ डाक्टरको परामर्श लिइहाल्नुपर्छ। हामीले गर्भवती महिलालाई फोलिक एसिड औषधि दिन्छौँ, जसले बच्चाको मानसिक तन्दुरुस्तीलाई अझ प्रबल बन्न सहयोग गर्छ। कसैले बच्चा जन्माउने योजना बनायो भने हामीले तीन महिनासम्म फोलिक एसिड खाने सल्लाह दिन्छौँ।
सम्भावित जोखिमबाट कसरी जोखिने ?
गर्भवती भएको थाहा पाउनेबित्तिकै चेकजाँच गर्ने र आफू पनि सचेत हुने गर्नुपर्छ। गर्भवती हुँदा गाह्रो हुने, भारी हुने कुरा उठाउनु हुँदैन।
सकेसम्म लामो यात्रा गर्नु हुँदैन। खानामा विशेष ध्यान दिनुपर्छ। तीन महिनासम्म शारीरिक सम्बन्ध नराख्नु राम्रो मानिन्छ। यसका साथै आफैले पनि आफनो विशेष ख्याल राख्नुपर्छ। (स्त्री रोग विशेषज्ञ डा. सुनिता बज्राचार्यसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)