अन्तर्वार्ता

‘नेपाली उत्पादन बाहिर बेचेपछि मात्रै समृद्धि सम्भव छ’

By खबरहब

August 27, 2022

काठमाडौँ – पछिल्लो समय युवा व्यवसायीहरुका लागि नेपाल उद्योग परिसंघले नयाँ कार्यक्रम नै सुरुवात गरेको छ । ‘स्टार्ट अफ फेस्टिभल’ नाम दिएर परिसंघले सुरु गरेको कार्यक्रममा युवा व्यवसायी र लगानीकर्तालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । यो कार्यक्रम अहिले केही ठाउँमा सफलतापूर्वक सम्पन्न भएको छ । परिसंघले यससँगै युवा व्यवसायीलाई उद्यमशीलतामा लगाएर देशको समृद्धिमा युवा नै अगाडि सार्नुपर्ने आकर्षक नारा पनि अघि बढाएको छ । युवाहरुलाई व्यवसायमा स्थापित गरेपछि मात्रै देशको समृद्धि सम्भव भन्ने नारासहित परिसंघका महानिर्देशक दीपकराज जोशी यस्ता कार्यक्रममा लागिरहेका छन् । नेपाल पर्यटन बोर्डका पूर्व सीइओसमेत रहेका जोशीसँग खबरहबका लागि सुभास प्रधानले गरेको कुराकानीको सम्पादित अंशः

नेपाली उत्पादनलाई विश्व बजारमा लैजाने उद्देश्य र योजना के छन् ? जसका लागि तपाई नेपाल उद्योग परिसंघको महानिर्देशक बन्नुभयो ? पछिल्लो नेपालको अवस्थामा १२ प्रतिशत स्वदेशी उत्पादनहरू थिए । तर अहिले त्यो घटेर ५ प्रतिशतमा झरेको छ । हाम्रो अर्थतन्त्रमा परनिर्भरता बढ्दै गयो । यो दिगो विकासको लागि राम्रो हैन किनभने देशमा उद्योगहरू विकास भएनन् भने रोजगारी बन्द हुन्छ । देशको अर्थतन्त्र घाटामा जान्छ । अर्थतन्त्रको दिगो विकास हुँदैन । त्यसैले अहिले हामीले नेपाल सरकारसँगको सहकार्यमा ‘नेपाल स्वदेशी अभियान’  चलाइरहेका छौँ । देशको चिन्ताजनक अवस्था देखेर नै हामीले यो अभियान चलाएको हौँ । यो अभियानको मुख्य उद्देश्य भनेको नेपालमा नै वस्तु उत्पादन होस् र ती उत्पादन बाहिर पनि बेच्न सकियोस् भन्ने हो । जसले गर्दा नेपालको अर्थतन्त्र राम्रो होस् । नेपालले नै उत्पादन गरेको कुरा बाहिर बेचेर मात्रै देशको समृद्धि सम्भव छ ।

सरकारको तर्फबाट जुन सहयोग हुनु पर्ने हो, त्यो भएन भन्ने धेरै उद्योगीहरुको गुनासो छ, तपाईँहरूले सहयोग पाउनुभयो ? नेपाली उत्पादकहरू एक भएर हामीसँग जोडिनु पर्दछ । स्वदेशी वस्तुहरू पहिला त गुणस्तरीय हुनुपर्दछ । त्यसैले हामीले एउटा लोगो नै यो राम्रो हो भनेर राखेका छौँ । उपभोक्ताहरूले जहिले पनि राम्रो र बलियो बस्तुहरू खोजेका हुन्छन् । त्यो हामीले बनाउन सक्नु पर्छ । त्यस्ता उद्योगहरू जसलाई सरकारी निकायबाट जुन सहयोग आवश्यक परेको हुन्छ वा अन्य सहयोग आवश्यक परेमा त्यसलाई हामीले सहयोग गरेका छौँ । गुणस्तरीय सामानहरूको लागि दक्ष जनशक्तिहरूको आवश्यकता पर्दछ । त्यसको लागि हामीले कामदारहरूमा सीप र दक्षता अभिवृद्धिको लागि समन्वयकारी भूमिका खेल्दिने कामहरू गरेका छौँ । विदेशमा सामान निर्यात गर्दा कुन मार्केट राम्रो छ र कहाँ पठाउँदा बढी फाइदा हुन्छ, त्यसको आधारमा बजारीकरण गर्दछौँ ।

उत्पादनको क्रममा चाहिने सामानमा केही छुट भए हुन्थ्यो भन्दै गर्दा तपाइँहरूको जिम्मेवारी के रहन्छ ? नेपाल उद्योग परिसंघ भनेको एउटा निजी क्षेत्रका औद्योगिक व्यवसायीहरूको छाता संगठन हो । हामीले सरकारी निकायमा रहेका नीति निर्माताहरूसँग छलफल गर्छौँ । अनि जसले उत्पादन गर्नहुन्छ उहाँहरूलाई बुझाउने कार्यहरू गरेका छौँ । निजी क्षेत्रका लागि सहयोगी भएर काम गरेको छौँ । हामी सबैलाई सहयोग गर्न अगाडि बढेका हौँ।

युवाहरू यस कुरामा कत्तिको आकर्षित हुनु भएको छ ? हरेक मानिसहरूको ध्यान नेपाली बस्तु भन्दा पनि बाहिरी सामानहरूमा गएको पाइन्छ । नेपालका समानहरू राम्रो हुँदैनन् कि भन्ने सोच रहेको पाइन्छ तर त्यो सत्य होइन । आजका उद्योगीहरुले धेरै जोखिम लिएर राम्रै सामान उत्पादन गर्नु भएको छ । त्यो गुणस्तरीय छ । चाहे त्यो गार्मेन्टमा, फ्याक्ट्रीमा हरेक ठाउँमा किन नहोस् । सिमेन्टहरू धेरै गुणस्तरीय उत्पादन भएका छन् । नयाँ पुस्ता अहिले आएर केही स्वदेशी उत्पादनमा बढी आकर्षित भएका छन् । जुत्तामा र कपडाहरूमा केन्द्रित भएका छन् ।

नेपाली उत्पादनलाई विश्व बजारमा लैजानुपर्छ भन्ने सोचाई कसरी आयो ? नेपालमा रहेका उद्योगलाई कसरी माथि लैजाने भन्ने चिन्ता मनमा थियो। देशलाई अब माथि लैजाने भनेको स्थानीय उद्योगहरू नै हो भन्ने बुझाइ हाम्रो भयो । त्यसपछि हामीले परिसंघ खोल्यौँ। अहिले करिब ८० वटा कम्पनी हामीसँग जोडिएका छन् । हामीले नयाँ उद्यमीहरूलाई ‘स्टार्ट अफ फेस्टिभल’ भनेर केही समय अगाडि सुरु गरेका थियौँ । त्यो अहिले धेरै प्रभावकारी भएको छ । केही नयाँ योजनाहरू पनि छन् । लगानीकर्ताहरू पनि छन् है भनेर त्यो कार्यक्रमले पुष्टि गरेको छ । जहाँ ७ देखि ८ वटा स्टेप्सहरुलाई जोड्ने काम भएको छ। डेढ करोडदेखि ८ करोडसम्मको लगानी एकैछिनमा स्वाहा भयो भने कसरी आफूलाई सम्हालेर फेरि व्यापार-व्यवसायमा फर्किने भन्ने सोच आउन जरुरी छ । नयाँ आउने साथीहरूलाई पहिलाको जस्तो जागिरमा नै धेरै भ्यालु छैन । अहिले उद्योगहरूमा धेरै नै स्कोप बढेको छ । डिजिटल माध्यमले विश्वका ठुला–ठुला बजारहरूमा सहकार्य गर्न सकिन्छ ।

अहिले युवाहरूले तपाईँ लगायत संघ-संस्थाबाट सहयोग पाउन के–कस्तो प्रक्रिया अपनाउनुपर्छ ? त्यसको लागि हाम्रो एउटा प्रोसेस हुन्छ । एउटा त हामी यस वर्ष जुन ‘स्टार्ट अफ फेस्टिभल’ सुरु गर्‍यौ । त्यसलाई वार्षिक हिसाबले गर्ने भनेका छौँ । त्यति बेला हामीले आह्वान गर्ने छौँ । त्यहाँ धेरै प्रपोजलहरु आउँछन् । त्यसमा राम्रोलाई सहयोग गर्ने गर्दछौँ । लगानीकर्ताहरुसँग लगेर जोड्दिन्छौँ । अलि जान्ने मान्छेहरूमा भेटाइदिन्छौँ । अझै राम्रो योजना छ भने हाम्रो लगानीकर्ताहरुको नेटवर्क बनाउने छौँ ।

धेरैले पहिला लगानी गर्नुहुन्छ, पछि फाइदा भएन वा व्यापार चलेन भनेर डुब्ने खतरा देख्नु हुन्छ। त्यो जोखिम आउन नदिन के गर्नुपर्छ ? हामीले धेरै क्षेत्रहरूमा अनुदान दिने चलन देख्यौँ । त्यो राम्रो फाइदाजनक होइन । अनुदानभन्दा पनि लगानीकर्ताहरूको नै लगानी भयो भने त्यो योजना सफल हुन्छ । अनुदानले मात्रै फाइदा गर्दैन । नाफा हुँदैन ।

अनुदान लिँदा सजिलै लिने अनि त्यसलाई दुरुपयोग गर्ने क्रम पनि बढेको छ नि यसलाई कसरी निगरानी गर्न सकिन्छ ? ठुलो लगानीका लागि अनुदान आवश्यक हुँदैन । नयाँ आइडियाहरूलाई थोरै लगानी र निगरानीको आवश्यकता पर्दछ ।

प्राविधिक रूपमा युवा व्यवसायीहरूलाई कसरी तालिम दिइरहनु भएको छ ? अहिले हाम्रो विकसित देशका लगानीकर्ताहरुसँग सहकार्य भएको छ । ठूलो निर्माण व्यवसायी तथा उद्योगहरुसँग सहकार्य भएको छ । युवाहरुलाई ती उद्योगमा जोड्ने र नयाँलाई तालिम दिएर फेरि जोड्ने काम गरिरहेका छौँ । नेपाल सरकारसँग सहकार्य गर्ने कार्यक्रम सुरु भएको छ । यसमा पनि पर्यटन क्षेत्रमा युवाहरुलाई जोड्ने र रोजगारी सिर्जना गर्ने हाम्रो योजना छ ।

 

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)