काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् ।
मन्त्रालयले आज आयोजना गरेको सङ्घ, प्रदेश र स्थानीय तहको पर्यटनसँग सम्बन्धित विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुत बनाउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गरिनुपर्ने बताएका हुन् । ‘नेपालमा बाह्रै महिनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नसक्ने जलवायु तथा मौसमी विविधता रहेको छ, पर्यटक आकर्षण गर्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिकस्थलको अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न आवश्यक छ’, उनले भने ।
मन्त्री श्रेष्ठले देशका सातै प्रदेशका पर्यटकीय दृष्टिकोणले आकर्षण र महत्वपूर्ण रहेका स्थानको ‘ब्राण्डिङ’ गरी पर्यटकीय गन्तव्यको विविधीकरण गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन, शिक्षा तथा संस्कृति पर्यटनलाई पनि विशेष प्राथमिकता दिएर पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गरे । पर्यटन क्षेत्रको विकासका लागि ‘रि ब्राण्डिङ’ गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।