अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

September 27, 2022

आज असोज ११ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २७, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

सैन्य परिचालनको निर्णयमा त्रुटि भएको क्रेमलिनको संकेत

बढ्दो सार्वजनिक विरोधबीच रुसी प्रशासन क्रेमलिनले युक्रेनमा लड्न आफ्ना नागरिकहरुलाई परिचालन गर्ने निर्णयमा केही त्रुटि भएको संकेत गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले गल्ति भएको संकेत गर्दै त्यसलाई सच्च्याइने बताएका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “केही गल्तीहरु भएका छन् र अवस्थाको सुधारका लागि क्षेत्रीय गभर्नरहरुले काम गरिरहेका छन् ।’’ पुटिनले गत साता युक्रेनमा लड्नका लागि ३ लाख रुसी नागरिकलाई परिचालन गर्ने आदेश दिएका थिए ।

तर, धेरै सैन्य अनुभव नभएका र असक्षम व्यक्तिलाई पनि परिचालनको तयारी गरिएको विभिन्न रिपोर्टमा जनाइएको थियो । परिचालनको विरोधमा रुसभर विरोध प्रदर्शनको आयोजना गरिएको छ । प्रदर्शनमा हस्तक्षेप गर्दै प्रहरीले हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

पुटिनले जगेडा सैनिकलाई परिचालन गर्न दिएको आदेशले रुसी सेनाहरू युक्रेनको युद्धभूमिमा नराम्ररी असफल भइरहेको देखाएको पश्चिमा मुलुक एवम् युक्रेनका सैन्य विशेषज्ञहरुले टिप्पणी गरेका छन् । रुसले युक्रेनमाथि हमला सुरु गरेको सात महिनाभन्दा धेरै भएको छ ।

त्यस्तै, पेस्कोभले रुसको सीमा बन्द नभएको समेत स्पष्ट पारेका छन् । हालसम्म रुसले आफ्नो सीमा बन्द गर्नेबारे कुनै निर्णय नगरेको पेस्कोभले बताएका हुन् ।

पुटिनले आशिंक सैनिक परिचालनको घोषणा गरेसँगै पछिल्लो समय रुस छाडेर विदेश जानेको सङ्ख्या ह्वात्तै बढेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीर एवम् भिडियोहरुमा रुसको सीमा नाकामा देश छाड्न चाहने मानिसहरुको लामो लाइन देख्न सकिन्छ ।

यसैबीच, रुसमा विलय हुन स्वघोषित ‘जनमत संग्रह’ को लागि मत संकलन गर्न रुसी कब्जामा रहेका युक्रेनी भूभागमा रुसी सशस्त्र बल घर–घर पुगेका छन् ।

दक्षिणी खेरसनमा मत संकलन गर्न रुसी सुरक्षाकर्मीहरू सहरको बीचमा मतपेटिका लिएर उभिएका बताइएको छ ।

बङ्गलादेशमा डुङ्गा दुर्घटना

बङ्गलादेशमा गत आइतबार डुङ्गा पल्टिँदा मृत्यु हुने यात्रीको सङ्ख्या ५१ पुगेको छ । बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिएको थियो ।

त्यसमा परी मृत्यु हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको बताइएको छ । यहाँका अधिकारीहरुले सो डुङ्गा दुर्घटनामा परी हराएका व्यक्तिको शव भेटिने क्रम जारी रहेको बताएका छन् ।

खोजी कार्यपश्चात सो क्षेत्रमा थप शव भेटिएको र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको अधिकारीहरुले बताएका हुन् ।

यहाँका स्थानीय सञ्चार माध्यमहरुले सो डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए । सो दुर्घटनामा परेर हराएका व्यक्तिको शव भेटिँदै गएको बताएका छन् ।

पञ्जगढ जिल्लाका प्रहरी सुपरीटेन्डेन्ट एस एम सिराजुद हुडाले केही व्यक्ति हराइरेका र उनीहरुको खोजी कार्य जारी रहेको बताउँदै हालसम्म बेपत्तामध्ये थप केही शव भेटिएको र ५१ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिएका छन् ।

सो डुङ्गामा एक सय जनाजति यात्रु रहेका बताइएको थियो । अहिले पनि डुङ्गामा रहेका केही व्यक्ति हराइरहेका र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी प्रमुख हुडाले जानकारी दिएका छन् ।

प्रहरीले डुङ्गामा क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर सो दुर्घटना हुन पुगेको बताएको छ । बङ्गलादेशमा यसरी क्षमताभन्दा बढी व्यक्ति बोक्दा बारम्बार डुङ्गा दुर्घटना हुने गरेका छन् ।

पाकिस्तानमा डेङ्गु बढ्दो

यस वर्षको मनसुनी वर्षामा आएको बाढीबाट ठूलो पुगेको क्षति पुगेको पाकिस्तानमा पछिल्ला केही हप्तायता आएर डेङ्गुको प्रकोप थप बढेको छ ।

पाकिस्तानका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको छ ।

यसअघि मनसुनी वर्षा र बाढीबाट सबैभन्दा बढी प्रभावित देखिएका क्षेत्रमध्येको सिन्ध प्रान्त डेङ्गुबाट बढी प्रभावित देखिएको छ । यस प्रान्तमा डेङ्गुको ज्वरो बढेको र धेरै मानिस अस्पताल भर्ना भएका बताइएको छ ।

यस प्रान्तमा मात्र डेङ्गुको प्रकोपबाट गएको २४ घन्टा यतामात्र करिब चार सय जना सङ्क्रमित भएका छन् । कराँचीमा पनि गएको २४ घन्टायता यो सङ्क्रमणबाट कम्तीमा पनि तीन सय ३० जना सङ्क्रमित भएका बताइएको छ ।

सिन्ध प्रान्तको प्रान्तीय स्वास्थ्य विभागका प्रमुखले डेङ्गुका कारण सङ्क्रमित मात्र नभएर मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएको बताएका छन् ।

यस वर्षको मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका यी प्रान्तमा बाढीका कारण बढेको फोहर र अन्य कारणहरुले गर्दा यहाँ डेङ्गुको ज्वरोको प्रकोप बढेको बताइएको छ ।

यहाँ अहिलेसम्म आठ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

पाकिस्तानमा यस वर्षको मनसुनबाट प्रभावित अर्को प्रान्त खैबर पख्तुनख्वामा पनि डेङ्गुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यसवर्ष मात्र कम्तीमा छ हजार जनामा यो सङ्क्रमण देखिएको त्यहाँको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

आफ्नो हत्याको षड्यन्त्र भएको इमरान खानको आरोप

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वरिष्ठ राजनीतिज्ञ मरियम नवाजलाई आफूविरुद्ध ‘साम्प्रदायिकता र धार्मिक घृणा’ को प्रचार गरेको र ‘धार्मिक कट्टरपन्थी’मार्फत उनको हत्या गर्ने षड्यन्त्र रचेको आरोप लगाएका छन् ।

मरियम पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी हुन् । ‘धार्मिक कट्टरपन्थीमार्फत मेरो हत्या गर्न मरियम नवाज र उनका सहयोगीहरूले मेरो विरुद्ध साम्प्रदायिकता र धार्मिक घृणाको प्रचार गरेका छन्’, खानले भने ।

आफूलाई मृत्युसँग डर नभएको उनले बताए । गत शनिबार लाहोरबाट करिब ४० किलोमिटर टाढा रहिम यार खानको एक ¥यालीमा पनि पीटीआईका अध्यक्षसमेत रहेका खानले आफ्नो हत्याको षडयन्त्र भएको दाबी गरेका थिए । ‘चार जनाले मलाई मार्ने ’बन्द ढोका’ पछाडि निर्णय गरेका थिए’, उनले भने ।

पूर्व क्रिकेटर खानले बारम्बार हत्याको षडयन्त्र भएको दाबी गर्दै आएका छन् । संसदमा अविश्वासको प्रस्तावमार्फत हटाइएका खान सत्ता च्युत भएपछि सरकारविरुद्ध आक्रोश पोख्दै आएका छन् ।

अफगानिस्तानमा महिलाका लागि विद्यालय खोल्न चौतर्फी दबाब

अफगानिस्तानमा महिलाहरुका लागि विद्यालय खुला गर्नुपर्ने आवाज अझ सशक्त बन्न थालेको छ ।

महिला विद्यार्थीका लागि विद्यालय बन्द गरेसँगै अफगानिस्तानमा शासन गरिरहेको तालिबानको चौतर्फी आलोचना भइरहेको छ । यस्तो अवस्थामा अफगानिस्तानको टोलो न्यूजले सञ्चालन गरेको अनलाइन सर्वेक्षणमा झण्डै ९० प्रतिशत मतदाताले अफगानिस्तानमा महिला विद्यार्थीका लागि पनि विद्यालय खुला गर्नुपर्ने पक्षमा मतदान गरेका छन् ।

टोलो न्यूजको अनलाइन संस्करणले जनाएअनुसार उक्त टेलिभिजनको फेसबुक र इन्स्टाग्राम पेजमा २४ घण्टाका लागि अनलाइन सर्वेक्षण गरिएको थियो ।

फेसबुकमा सञ्चालित सर्वेक्षणमा ३४ हजार १ सय जनाले मतदान गरेको र यीमध्ये ८९ दशमलब ७ प्रतिशतले महिला विद्यालय खुला हुनुपर्ने पक्षमा मतदान गरेको उक्त टेलिभिजनले जनाएको छ ।

फेसबुकमा मतदान गर्ने १० दशमलब ३ प्रतिशतले महिला विद्यालय खुला हुनुपर्ने विषयको विपक्षमा मतदान गरेका थिए ।

त्यसैगरी इन्स्टाग्रामको सर्वेक्षणमा ९ हजार ८ सय २० जनाले सहभागिता जनाएको टोलो न्यूजले जनाएको छ । यीमध्ये ९२ प्रतिशतले महिलाका लागि विद्यालय खुला हुनुपर्ने पक्षमा मतदान गरेका थिए । ५ प्रतिशतले विपक्षमा र ३ प्रतिशतले थाहा छैन भन्ने विकल्पमा मतदान गरेको जनाइएको छ ।

यसअघि तालिबानको नेतृत्वमा रहेको शिक्षा मन्त्रालयले साँस्कृतिक कारणले गर्दा महिला विद्यार्थीका लागि विद्यालय बन्द गरिएको जनाएको थियो ।

तालिबानले बारम्बार आफूहरु महिला शिक्षाको विपक्षमा नभएको बताउँदै आएपनि महिलाका लागि विद्यालय कहिले खुल्छन् भन्ने अझै अन्यौल रहेको टोलो न्यूजले जनाएको छ ।

पाकिस्तानमा तेस्रोलिङ्गीमाथि हिंसात्मक आक्रमण बढ्यो

पाकिस्तानमा तेस्रोलिङ्गीमाथि हिंसात्मक आक्रमणका घटना बढ्न थालेको पाइएको छ । इस्लाम खबरका अनुसार पाकिस्तानमा २० करोड जनसंख्यामध्ये १० हजार ४ सय १८ जना तेस्रोलिङ्गी छन् ।

हालैमात्रै पाकिस्तानको रावलपिण्डी सहरमा तेस्रोलिङ्गी समुदायका मानिसहरु चढेको गाडीमा अज्ञात आक्रमणकारीले हमला गर्दा तीन जना तेस्रोलिङ्गी र सवारी चालक घाइते भएका थिए ।

त्यसअघि सेप्टेम्बर १ मा सिन्ध प्रान्तको कराँची सहरमा मजिद नाम गरेका तेस्रोलिङ्गीको छुरा धसेर हत्या गरिएको थियो ।

त्यसअघि गत जुलाई १ मा पनि रावलपिण्डी सहरमै अमिस मसिह नाम गरेका तेस्रोलिङ्गीलाई छुरा धसेर हत्या गरिएको थियो ।

पाकिस्तानमा यस्ता लैङ्गिक एवम् यौनिक अल्पसङ्ख्यकलाई लक्षित गरी बारम्बार आक्रमण हुने गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसबाहेक उनीहरुको शिक्षा र रोजगारीमा समान अवसर, बाँच्ने अधिकार तथा अन्य आधारभूत मानव अधिकार समेत उल्लङ्घन हुने गरेको बताइन्छ ।

फिलिपिन्समा आँधीको प्रकोप

नोरु नामक आँधीले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका सरकारी निकायले मङ्गलबार जनाएको छ ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले राजधानी मनिलाको उत्तरी प्रान्त बुलाकानमा अचानक बाढीले बगाएको पाँच उद्धारकर्ताको मृत्यु भएको पुष्टि गरेको छ ।

नोरु आइतबार दिउँसो अवतरण गरेको केही घण्टापछि उक्त निकायले क्युजोन प्रान्तमा एक र जाम्बालेस प्रान्तमा दुईवटा आँधीका कारण थप तीन जनाको मृत्यु भएको जनाइएको छ ।

यस निकायले ती तीन जनाको कसरी मृत्यु भयो भन्ने विवरण भने दिएको छैन । यस निकायले मनिलाको दक्षिणपूर्वी बिकोल क्षेत्रमा थप तीन जना हराइरहेको बताएको छ ।

फिलिपिन्सलाई समुद्री प्रकोपबाट सबैभन्दा धेरै प्रभावित देशहरुको सूचीमा राखिन्छ । मुख्यतया प्यासिफिक रिङ्ग अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा पर्ने भएका कारण यस देशमा वार्षिक २० आँधी आउने गरेको पाइन्छ । यी मध्ये केही तीव्र र विनाशकारी हुने गरेका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस

दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३९ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९ हजार चार सय २५ जना सङ्क्रमित भएका हुन् । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ४६ लाख ७३ हजार छ सय ६३ पुगेको स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।

दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक दिनअघिको तुलनामा बढेको देखिएको छ । अघिल्लो दिन १४ हजार एक सय ६८ जना सङ्क्रमित भएका थिए । अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या ३० हजार तीन सय तीन रहेको थियो ।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये चार सय एक जना गम्भीर अवस्थामा रहेका छन् । यो सङ्ख्या भने अघिल्लो दिनको भन्दा २६ जनाले कम भएको छ । दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा २६ जनाको मृत्यु भएको छ । योसँगै कोरियामा कोरानाका कारण कुल मृतकको सङ्ख्या २८ हजा दई सय ७२ पुगेको छ ।

विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दा समेत दक्षिण कोरियामा भने फैलिइरहेको छ । महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्ण रुपमा नियन्त्रण गर्न असफल भएको टिप्पणी हुने गरेको छ ।