प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा फेरि अहमदिया मुसलमानको चिहान भत्काइयो

By खबरहब

September 27, 2022

काठमाडौँ- पाकिस्तानमा फेरि अल्पसङ्ख्यक अहमदिया समुदायका मानिसहरुको चिहान भत्काइएको पाइएको छ ।

हालैमात्र पाकिस्तानको लाहोर सहरबाट १५० किलोमिटर टाढा रहेको फैसलावादमा अज्ञात व्यक्तिहरुले अहमदियाहरुको १६ वटा चिहान भत्काएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

अहमदिया समुदायका प्रवक्ता अमिर महमुदले ७५ वर्षमा पहिलो पटक सो क्षेत्रमा अहमदियाहरुको चिहान भत्काइएको बताए । उनका अनुसार सो क्षेत्रमा उग्रवादी इस्लामिक धर्मगुरुहरुले हालैमात्र अहमदियाविरुद्ध उत्तेजक प्रवचन दिएका थिए ।

यसअघि पनि पाकिस्तानका विभिन्न स्थानहरुमा अहमदिया समुदायको चिहान भत्काइएको समाचार सार्वजनिक हुँदै आएका छन् ।

इस्लाम धर्म मान्ने भएपनि पाकिस्तानले अहमदियाहरुलाई मुसलमानको सूचीमा नराख्ने गरेको बताइन्छ ।

अल अरबिया पोस्टका अनुसार पाकिस्तानी अपराध संहिताको २९८ धारामा अहमदियाहरुका लागि आफूलाई मुसलमान भन्न र आफ्नो आस्थाको प्रचार गर्न प्रतिबन्ध लगाइएको छ ।