देश/प्रदेश

असोज १५ गतेदेखि लुम्बिनीका विद्युतीय गाडी सञ्चालनमा

By खबरहब

September 27, 2022

भैरहवा – लामो समयदेखि सञ्चालनमा आउन नसकेको लुम्बिनीको विद्युतीय बस सञ्चालनमा आउने भएको छ । पर्यटन मन्त्रालयले हस्तान्तरण गरेको विद्युतीय बस लामो समयसम्म सञ्चालनमा नआउँदा लुम्बिनी विकास कोषको आलोचना हुँदै आएको थियो ।

आजै मात्र गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा राखिएका बस सञ्चालन गर्न निर्देशन दिएका थिए । पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई उनले भोलि बिहान साढे ९ बजे सर्वपक्षीय बैठक बोलाई ११ बजेभित्र बस सञ्चालनसम्बन्धी निर्णय लिन कडा निर्देशन दिएका थिए ।

गृहमन्त्रीको निर्देशनपछि लुम्बिनी विकास कोष पनि सक्रिय भएको छ । कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई ९सिद्धिचरण० ले प्रेस विज्ञप्ति जारी गर्दै असोज १५ गतेदेखि ५ दिनसम्म अफिसियल परीक्षण हुने गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

आज बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दसैँको उपलक्ष्यमा पाँच दिन चार्जिङ स्टेशन र गाडीको मेशिनरी परीक्षणस्वरूप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको हो । सचिवालय बैठकले जिल्ला प्रशासन कार्यलय रुपन्देहीको सहयोग लिने निर्णय गरेको छ । बस सञ्चालनका लागि कोषका बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा जावेद अख्तर र धर्मेन्द्र पाल सदस्य रहेको संयोजन समिति गठन गरिएको छ ।

कोषले यसअघि लुम्बिनीमा रहेका विद्युतीय गाडी सञ्चालनका लागि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले कोषका अध्यक्ष तथा नागरिक उड्डयन तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई भदौ १२ गते प्रतिवेदन बुझाएको थियो । कोषको भदौ २३ गते बसेको कार्यकारिणी बैठकले कार्यविधिलाई अर्को बैठकले पास गर्ने निर्णय गरेको कोषाध्यक्ष भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोषले दसैँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको थियो ।

घटस्थापनाको समय गुज्रेपछि आलोचना बढ्नु स्वाभाविक भएको बताउँदै पर्यटन मन्त्रालयले कोषलाई पत्रद्वारा हस्तान्तरण गरे पनि यात्रु बोक्न सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा गाडीको नामसारी नहुँदा ढिलाइ भएको विज्ञप्तिमा उल्लेख छ ।

‘हामीले एक महिनाअघि देखि प्रदेश पर्यटन र यातायात कार्यलयमा नम्बर प्लेट परिवर्तनका लागि निवेदन पेश गरेका थियौँ । पर्यटन दिवसकै दिन प्रदेश पर्यटन मन्त्रालयले हरियो प्लेटका लागि सहमति प्रदान गरेको छ’, कोषाध्यक्ष भट्टराईले सचिवालय बैठकपछि जारी विज्ञप्तिमा भनिएका छ । बस तथा भ्यानको तेस्रो पक्षको बीमा गरेपछि अफिसियल परीक्षण र परीक्षण सञ्चालन गरिने कोषले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय, गृहमन्त्री खाण र प्रदेश पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीको चासोलाई कोषले सकारात्मकरूपमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । एसियाली विकास बैंकको सहयोगमा लुम्बिनीमा आउने पर्यटकको सुविधाका लागि कोषलाई १४ विद्युतीय भ्यान र पाँच विद्युतीय बस प्राप्त भएको थियो । एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत रु १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो । नेपाल सरकारले रु साढे तीन करोड भन्सार शुल्क बेहोरेको छ ।

लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँ आवतजावतका लागि सजिलो बनाउन यी बस र ट्याक्सी ल्याइएका हुन् । अत्याधुनिक बसमा १९ सिट छन् भने उभिएर यात्रा गर्दा ३५ अटाउँछन् । ट्याक्सीमा भने पाँच सिट छ । पूर्ण वातानुकूलित बस अपाङ्गमैत्री छ भने स्वचालित ढोका छन् । एक पटक फूल चार्ज गरे चार सय किलोमिटरसम्म गुड्छ ।