नेपालगंज : अरुबेला सँधै काठमाडौंकै सत्ता राजनीति, दल विभाजन र लाभ हानीका खेलमा अल्झिरहने जनता समाजवादी पार्टीका सचिव मोहम्मद ईस्तियाक राईलाई चुनाव सन्निकट आएपछि मात्र गाउँको सम्झना भयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनुको लाभ लिँदै उनले चुनावी स्टन्टबाजीकै लागि धमाधम बाँकेमा भौतिक संरचनाको शिलान्यास अभियान चलाउन थालेका थिए ।
गत भदौमा उनले रत्न राजमार्ग अन्तर्गत नेपालगन्जमा पैदल यात्रुको लागी निर्माण हुने आकाशे पुलको शिलान्यास गरे । भदौमा नै उनले आफ्नो निर्वाचन क्षेत्र बाँके–२ अन्तर्गत डुडुवा गाउँपालिकामा राप्ती नदी पुल र डुडुवा खोला पुलको शिलान्यास गरे ।
यो भदौ १८ को घटना हो । विकासका तिलस्मी गफ दिने, व्यवहारमा केही नगर्ने तर चुनावको मुखमा शिलान्यासको नाटक मञ्चन गर्ने राईको रवैया देखेर बाँकेका युवा वर्ग आक्रोशित थियो ।
त्यो दिन मन्त्री बहाल रहेकै बेला राई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ स्थित हनुमानगढी परिसरमा अवस्थित एक तले भवन उद्घाटन गर्न पुगेका थिए ।
दुई वर्षअघि नै निर्माण सम्पन्न भइसकेको भवनको चुनावको मुखमा उद्घाटन गर्न पुगेका मन्त्री राईलाई युवाहरूको एक समूहले अवरोध सिर्जना गर्यो। मन्त्री राई र युवाहरुको समुहबीच चर्को वादविवाद उत्पन्न भयो ।
आक्रोशित युवाले भवनमा राखिएको शिलालेख भत्काइदिए । आफूविरुद्ध युवाहरूले चर्को नाराबाजी गरेपछि मन्त्री राई कार्यक्रमस्थलबाटै कुलेलम ठोके ।
प्रतिकूल चुनावी गणित २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर–३ अन्तर्गत रहेको यो क्षेत्रलाई अहिले पुनः क्षेत्र–२ नै कायम गरिएको छ । नेपालगंज उपमहानगरपालिकाका १६ र १७ वडाबाहेक बाँकी सबै वडा र डुडुवा गाउँपालिकाका ६ वटै वडा यसै क्षेत्र अन्तर्गत पर्छन् ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शुशिल कोइराला (हाल दिवंगत)को गृहथलोका रुपमा परिचित यो क्षेत्रमा कांग्रेस र राप्रपाको बलियो पकड छ । यो क्षेत्रमा २०४८, २०५६ र २०७० मा कोइरालाले नै जितेका थिए ।
२०५६ सालमा राप्रपा र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तात्कालीन मधेशी जनअधिकार फोरमले जितेको यो क्षेत्रमा २०७४ सम्म आइपुग्दा परिस्थिति फेरिएको थियो ।
पहिलो संविधानसभामा फोरमबाट राईले जिते पनि २०७० सम्म आइपुग्दा उनको अवस्था कमजोर भइसकेको थियो । कोइरालाको निधनपछि भने फेरी मधेश आन्दोलनको जगमा उनी अगाडि आएका हुन् ।
नयाँ संविधान जारी भइसकेपछि सम्पन्न २०७४ को आम निर्वाचन इश्तियाक राईजस्ता नेताहरुका लागि निकै अनुकुल थियो । मधेश आन्दोलनको उर्जा त छँदैथियो, मधेशका दलहरु पनि एकगठ थिए । संघीय समाजबादी फोरमबाट खडा भएका राईले २१ हजार ५ सय ७५ मत ल्याएर जितेका थिए ।
त्योबेला राईको क्रेज कस्तो थियो भने उनले एक्लै दुई प्रमुख पार्टीका अलगअलग गठबन्धनका उम्मेदवारलाई हराएका थिए । एमाले र माओवादी केन्द्र मिलेर बनेको बाम गठबन्धनका उम्मेदवार पशुपति दयाल मिश्रलाई मात्र हैन, कांग्रेस र राप्रपाको गढकै रुपमा चिनिने यस क्षेत्रमा यी दुई पार्टीका साझा उम्मेदवार ओमप्रकाश आजादलाई समेत हराइदिए ।
२०७९ सम्म आइपुग्दा परिस्थितिमा फेरी उलटफेर भएको छ । एक त मधेशवादी दलहरू विभाजित छन् । अर्कोतिर नेपाली कांग्रेसले यो क्षेत्रमा आफ्नो पुरानो वर्चस्व पुनः जगाएको छ ।
हालैको स्थानीय निर्वाचनमा बाँके नै यस्तो क्षेत्र बन्यो, जहाँ नेपाली कांग्रेस र जसपाले आपसी तालमेल गरे । फलस्वरुप कांग्रेसका प्रशान्त बिष्ट १३ हजार ४ सय ६० मत ल्याएर नेपालगंज उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भए । उपप्रमुखमा जसपाका कमरुद्दिन राइ १७ हजार ८ सय ५० मत ल्याएर विजय भए ।
डुडुवा गाउँपालिकामा भने सत्ता गठबन्धन कायम थियो, फलस्वरुप गाउँपालिका अध्यक्षमा कांग्रेसका नरेन्द्रकुमार चौधरी ६ हजार २ सय ७२ मत ल्याएर विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपाका भण्डारीलाल अहिरले ५ हजार १ सय २५ मत ल्याए । यहाँ एमालेले ३ हजार ७ सय १९ मत ल्याएको छ भने माकेको २ सय ४७ मत मात्र छ ।
बाँके–२ अन्तर्गतको डुडुवा गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी शहिदा बानोले ५ हजार ८ सय ८४ मत ल्याएकी छिन् भने जसपाकी तरन्नुम बानोले ४ हजार ७ सय ५४ मत ल्याएकी छन् ।
मधेसवादी शक्तिहरू जसपा र लोसपाका रुपमा विभाजित भएको र बलियो सत्ता गठबन्धन कायम भएको अवस्थामा यसपटक बाँके–२ बाट जित्न राईलाई निकै हम्मेहम्मे देखिन्छ ।
पार्टी विभाजन र मन्त्री भएपछि उनीबाट भएका विविध क्रियाकलापका कारण पनि २०७४ मा झैं उनको अवस्था त्यति सहज देखिदैन ।
‘शिलायान्स मन्त्री’को चर्चा २०६८ सालमा कम उमेर (३२ वर्ष) मै श्रम तथा यातायात व्यवस्था मन्त्री बनेका मोहम्हद इश्तियाक राई पुनः २०७५ सालमा शहरी विकास मन्त्री बने । मन्त्री पदमा रहँदा उनको ध्यान आफ्नो क्षेत्रको विकास निर्माणतिर भन्दा बढी ‘शुभलाभ’ आर्जनतिरै भएको गुनासो नसुनिएको हैन ।
सस्तो लोकप्रियताका लागि अनेक झुटा आश्वासन बाँड्न पछि नपर्ने राईले ‘गाई संरक्षण गर्न एक करोड रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धतामा समेत खरो उत्रन सकेनन् ।
संघीय शहरी विकास मन्त्री हुँदा राइले ‘गाई बचाउ अभियान’ सञ्चालन गरिरहेका अभियन्ताहरू समक्ष छाडा चौपाया (गाई) को उचित व्यवस्थापन खातिर नेपालगन्ज उपमहानगरपालिकालाई संसदीय कोषबाट एक करोड रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
२०७९ असारमा तेस्रोपटक मन्त्री भए, भौतिक पूर्वाधार तथा यातायात मन्त्री । गत असोज २७ गते प्रधानमन्त्री देउवाबाट बर्खास्तगीमा परिसकेका राईले बजेट तर्जुजाबिना नै दर्जनौं भौतिक संरनाको शिलान्यास र उद्घाटन गर्ने अभियान चलाए । त्यसबेला नेपालगञ्ज र आसपासका क्षेत्रमा उनलाई ‘शिलायान्स मन्त्री’समेत भनिएको थियो ।
‘अन्तर्घात’को खतरा मधेसवादी दल विभाजित रहेको र यो क्षेत्रमा बलियो पकड रहेको काङ्ग्रेससहितको सत्ता गठबन्धन कायम भएको अवस्थामा जसपा उम्मेदवार राईलाई आफ्नै पार्टीभित्रबाट पनि अन्तर्घात हुनसक्ने अर्को खतरा पनि टडकारो देखिन्छ ।
जसपाभित्र यो क्षेत्रमा अहिले स्पष्ट दुई कित्ता देखिन्छ । बाँके–२ बाट टिकटका लागि नाम सिफारिस हुँदा राईको मात्र एक्लो नाम सिफारिस भएको थिएन । यसै क्षेत्रबाट उम्मेदवारीको प्रबल दाबेदारका रुपमा राईकै स्वकीय सचिव शम्सुल हक राईको नाम पनि सिफारिस गरिएको थियो ।
२०६३ को मधेश आन्दोलनदेखि नै मधेसी जनअधिकार फोरमबाट राजनीतिमा सक्रिय शम्सुल वास्तवमा ईस्तियाक राईको राजनीतिक सफलताका सूत्रधार हुन भन्दा फरक नपर्ला ।
दुई पटकसम्म ईश्तियाक राई मन्त्री हुँदा शम्सुल नै स्वकीय सचिव थिए । तर, तेश्रो पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा चाहिँ ईश्तियाकले शम्सुललाई बेवास्ता गरे ।
त्यसयता ईस्तियाक र शम्सुलविच कटुता बढेको बताइन्छ । एउटै क्षेत्रबाट बारम्बार एकै व्यक्ति उम्मेदवार बन्न नहुने पक्षमा रहेका शम्सुलले आफु निकटका कार्यकर्तामाझ ‘राजनीति कसैको पेवा’ नभएको बताउँदै आएका छन् ।
यसपटक बाँके–२ मा आफ्नो हक रहेको दाबी गर्दै आएका शम्सुल टिकट नपाएपछि निकै खिन्न देखिन्छन् । उनी इश्तियाकको चुनावी अभियानमा पनि खासै शक्रिय देखिदैनन् । यो तिक्तताले अन्ततः ‘अन्तर्घात’कै रुप नलेला भन्न पनि सकिन्न ।
हालै एक स्थानिय मिडियामा शम्सुलले भनेका छन्, ‘मन्त्री भएपछि उहाँले मलाई सम्पर्क गर्नु भएको छैन । मैले पनि गरेको छैन । नेपालगन्ज आउँदा पनि उहाँसंग भेटघाट भएको छैन ।’