आर्थिक

नेपालप्रति आइएमएफको चासो

By खबरहब

January 28, 2022

काठमाडौँ– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालले तत्काल प्राथमिकता दिनुपर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र स्वास्थ्य भएको औंल्याएको छ । उसले नेपालले सामना गरिरहेको प्राकृतिक प्रकोपहरुसहितका जोखिमसँग जुध्नका लागि आवश्यक वित्तीय अनुशासनको सुनिश्चितताबारे कोषका अधिकारीहरु राम्रोसँग जानकार रहेको जनाएको छ ।

कोषको नेपालका लागि कार्यकारी निर्देशक रोजमेरी लिमसहितको संयुक्त वक्तव्यमा नेपालमा पनि हाल गहिरो स्वास्थ्य संकट कायमै रहेकाले अर्थतन्त्रको गतिसँगै जोखिममा रहेका समूहको रक्षा गर्न नेपाल चनाखो हुनुपर्ने उल्लेख छ ।

कोषले कोभिड–१९ का कारण नेपालको वित्तीय क्षेत्रमा पर्न सक्ने स्थायी प्रभावलाई पनि नजिकबाट अनुगमन गर्नुपर्ने आवश्यकताको पहिचान गरेको जनाएको छ । साथै कोषले राहत, पुनर्संरचना र पुनर्रुत्थानको सरकारको योजनामा सघाउने गरी नेपाललाई सहयोग गर्ने र यसका लागि नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्र नियमन तथा सुपरिवेक्षण क्षमता सुधार गर्नुपर्ने सुझाव दिएको छ ।