मुख्य समाचार

एमसीसीको व्याख्यात्मक घोषणामा नेपाल र अमेरिकाको समान बुझाइ : कांग्रेस

By खबरहब

February 28, 2022

काठमाडौँ– नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीको व्याख्यात्मक घोषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा रहेको दाबी गरेका छन् ।

सोमबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले एमसीसीको विषयमा नेपाल र अमेरिकाको बुझाइ समान रहेको दाबी गरेका हुन् ।

एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै उनले एमसीसीमाथि नियोजित रूपमा भ्रम फैलाइए पनि अब त्यो आशंका दूर भएको पनि बताए ।

‘एमसीसीबारे नियोजित ढंगले भ्रम छरिएको छ । एमसीसी कुनै देशविरुद्ध प्रयोग हुँदैन,’ महतले भने, ‘केही नेताहरूले दोहोरो चरित्र देखाएका छन् । यो विशुद्ध आर्थिक सहायता हो । यति ठूलो आर्थिक सहायता अहिलेसम्म नेपालले पाएको थिएन । जुन भ्रम थियो त्यो अब दूर भएको छ । अब यसलाई नेपालको आर्थिक विकासमा लगाउनुपर्छ ।’

उनले एमसीसी सैन्य परियोजना भएको भन्दै गरिएको भ्रम सरासर झुटो भएको पनि बताए । संसद्ले एमसीसीलाई अपनत्व गरेको भन्दै त्यसलाई अब सदुपयोग गर्नेतिर लाग्ने उनले बताए ।