एजेन्सी– रुसले छिमेकी मुलुक युक्रेनमाथि सैनिक आक्रमण गरेको पाचौँ दिन सोमबार पनि रुसी र युक्रेनी फौजबीच भिडन्त जारी छ । रुसी आक्रमण खासगरी मुलुकको उत्तरी चेर्निहिभ र पूर्वी शहर खारकिभमा केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रुसी फौजले आइतबार मात्रै खार्किभ शहर कब्जा गरेको जनाएको थियो । तर, कडा युक्रेनी प्रतिरोधपछि रुसी फौज पछि हट्नु परेको थियो ।
युक्रेनबाट प्राप्त समाचारअनुसार रुसी फौजको आक्रमण कमजोर हुनुका बावजुद सर्वसाधारण र सैनिकहरु हताहत हुने जाने क्रम भने रोकिएको छैन । बिहीबारबाट जारी भयानक रुसी आक्रमणबाट हालसम्म ३५२ सर्वसाधारणको मृत्यु भएको युक्रेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा १४ जना बालबालिका छन् । त्यस्तै, युद्धको चपेटामा परी ११६ बालबालिकासहित अरु १६८४ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
युक्रेनकी सहायक रक्षामन्त्री हाना मलायरले आफ्नो देशमाथि आक्रमणमा संलग्न ४,३०० रुसी सैनिक मारिएको दाबी गरेकी छिन् । रुसी क्षतिको विवरण फेसबुकमार्फत सार्वजनिक गर्दै युद्धको पहिलो तीन दिनको तथ्याङ्क अनुसार ४,३०० रुसी सैनिक मारिएको दाबी गरेकी हुन् ।
उनले सार्वजनिक गरेको क्षतिको विवरणअनुसार ४,३०० रुसी सैनिक मारिएको, २७ रुसी विमान खसालिएको, २६ हेलिकप्टर खसालिएको, १ सय ४६ ट्याङ्क ध्वस्त पारिएको, ७ सय ६ सशस्त्र सवारीसाधनमा क्षति पुराइएको, ४९ वटा रुसी तोप नष्ट पारिएको, एउटा हवाई रक्षा प्रणाली ध्वस्त पारिएको, ४ वटा रकेट प्रहार गर्नसक्ने प्रणाली नष्ट गरिएको दाबी गरिएको छ ।
कठोर युक्रेनी प्रतिरोधका कारण रुसी सेनाको आक्रमणले अझै गति लिन नसकेको चर्चा चल्न थालेको छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्वीर र भिडियोहरुमा बन्दोबस्तीको सामानको पहुँच नपुगेको र युक्रेनी प्रहारबाट ध्वस्त भएका कारण रुसी सैनिक सवारी साधन र उन्य सैनिक उपकरणहरु सडकमा त्यसै अलपत्र छाडिएको देख्न सकिन्छ ।
‘रुसी फौजको आक्रमणको गति सुस्त भएको छ । तैपनि केही क्षेत्रमा सफलता हासिल गर्न उनीहरु प्रयासरत छन् ।’ युक्रेनी सेनाले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
यता बेलायती रक्षामन्त्रालयले पनि राजधानी किभमा रुसी आक्रमण कमजोर बनेको निष्कर्ष निकालेको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् विज्ञप्ति जारी गर्दै रक्षा मन्त्रालयले कठोर युक्रेनी प्रतिरोधका कारण किभमा रुसी आक्रमण कमजोर बनेको जनाएको हो ।
‘पुटिको फौजको ठूलो अझै राजधानी किभबाट ३० किलोमिटरको दूरीमा अड्किएको छ । होस्तोमेल हवाईमैदान रक्षार्थ खटिएका युक्रेनी फौजको प्रतिरोधले रुसी आक्रमणलाई सुस्त बनाइदिएको छ ।’
आक्रमणको पहिलो दिन मै कब्जा गर्ने लक्ष्य लिएको भएपनि रुसी फौज उक्त हवाई मैदान कब्जा गर्न अझै असफल भएको बेलायती दाबी छ । बन्दोबस्तीका सामानको आपुर्तिमा पनि रुसलाई समस्या परेको बेलायती रक्षामन्त्रालयको भनाइ छ ।
अर्कोतर्फ रुसी आक्रमणविरुद्ध एक्लै लडिरहेको युक्रेनलाई युरोपेली साझेदारहरुबाट सहयोग आउने क्रम जारी छ । युरोपेली युनियनले रुसविरुद्ध लड्न युक्रेनलाई झण्डै ५० करोड युरो सहयोग गर्ने निर्णय गरेको छ । युरोपेली युनियनले विदेशी आक्रमणको चपेटामा परेको मुलुकलाई हतियार खरिद गरी आपुर्ति गरेको यो पहिलो पटक हो । यसअघि जर्मनीले युक्रेनलाई १ हजार ट्याङ्क नष्ट गर्ने एन्टीट्यांक क्षेप्यास्त्रका साथै युद्धविमानलाई मार हान्न सक्ने ५ सय स्टिङ्गर क्षेप्यास्त्र पठाउने निर्णय गरेको थियो ।
युरोपेली युनियनले रुसी हवाई जहाजलाई युरोपेली आकास प्रयोग गर्न नदिने निर्णय समेत गरेको छ । ‘हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियनको आकाशमा बन्द गराएका छौँ ।’ युरोपेली कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लाइनको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।
यस्तै, रुसी मिडियाहरु पनि अन्तर्राष्ट्रिय प्रतिबन्धको शिकार भएका छन् । फेसबुकले रुसको टेलिभिजन च्यानल आरटीको पेजमा विज्ञापनको सुविधामाथि बन्देज लगाइदिएको छ भने युरोपेली युनियनले पनि युरोपभर आरटी, स्पुत्निकजस्ता रुसी मिडियामाथि बन्देज लगाइदिएको छ ।
यता रुसलाई अन्तर्राष्ट्रिय बैंकिङ सञ्जाल स्विफ्टबाट निकाल्ने विषय पश्चिमा मुलुकहरुमा चर्चामा रहेका बेला रुसमा बैंकमा पैसा निकाल्ने मानिसहरुको लाम लाग्न थालेको छ । कुनै पनि बेला स्विफ्टबाट रुस बाहिरिन सक्ने र यसबाट रुसी मुद्रा रुबलको भाउ घट्ने भयका कारण रुसमा मानिसहरु बैंकबाट पैसा निकाल्न हतारिएका हुन् । राजधानी मस्को र सबैभन्दा ठूलो शहर सेन्ट पिटर्सबर्गसहित मुलुकका विभिन्न शहरहरुमा एटिएम र बैंकबाट पैसा निकाल्न सयौँ मानिसहरु लामबद्ध भएर बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यस्तै, रुसको केन्द्रीय बैंकले सम्भावित अन्तर्राष्ट्रिय प्रतिबन्धलाई ध्यानमा राख्दै ब्याजदर ह्वात्तै बढाएको छ । अन्तर्राष्ट्रिय नाकाबन्दी र प्रतिबन्धबाट देशको अर्थतन्त्रमा पर्नसक्ने नकारात्मक असरबाट जोगिन भन्दै रुसको केन्द्रीय बैंकले ब्याजदर ९.५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याएको हो ।
उता युक्रेनी सुरक्षा परिस्थितीबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ महासभाको आकस्मिक बैठक बस्दैछ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युक्रेनमा जारी लडाईँका विषयमा छलफल गर्न महासभाको आकस्मिक बैठक डाकेको हो ।
अपेक्षाअनुसार सफलता हासिल गर्न नसकिरहेका बेला रुस युक्रेनसँग वार्ता गर्न राजी भएको छ । यसअघि युक्रेन सरकारलाई नव नाजीको संज्ञा दिएको रुसले युक्रेनसँग वार्ता गर्न अनिच्छा प्रकट गर्दै आइरहेको थियो । वार्ता गर्नका लागि युक्रेनी वार्ता टोली बेलारुस आइपुगेको बताइएको छ ।