काठमाडौँ- कोरोना महामारीपछि रेड कार्पेटसहित भौतिक रुपमै आयोजना गरिएको यस वर्षको प्रतिक्षित ओस्कार अवार्डको ९४ औँ संस्करण सम्पन्न भएको छ । अमेरिकाको लस एन्जल्समा नेपाली समय अनुसार सोमबार बिहान सम्पन्न भएको ओस्कार अवार्डको समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको हो । यसवर्षको ओस्कार अवार्डमा ‘कोडा’ बेस्ट फिल्म घोषणा भएको छ । अभिनेताको रुपमा विल स्मिथले पहिलो ओस्कार पनि जिते । उनले किङ रिचर्डबाट अवार्ड जितेका हुन् ।
यस्तै, निर्देशनमा जेनी क्याम्पियनले फिल्म ‘द पावर अफ दी डग’ बाट निर्देशकको अवार्ड जितिन् । ‘ड्युन’ ले सर्वाधिक ६ विधामा ट्रफी उचाल्यो । ओस्कार इतिहासमै पहिलोपटक पपुलर भोटिङको आधारमा ‘फ्यान फेवरेट’ विधा यसपटक समावेश गरियो । विवादित मानिएको यो विधामा ज्याक स्नाइडरको ‘आर्मी अफ दी डेड’ सर्वोत्कृष्ट बन्यो । ट्वीटरमार्फत दर्शकले यो विधामा मतदान गरेका थिए ।
सहअभिनेता विधामा जितेका ‘कोडा’ अभिनेता ट्रोइ कोत्सर ओस्कार इतिहासमै दोस्रो बहिरा अभिनेता बने । अन्तर्राष्ट्रिय फिचर विधामा ‘ड्राइभ माइ कार’ उत्कृष्ट भएसँगै जापानले १४ वर्षपछि ओस्कार जित्यो । ‘वेस्ट साइड स्टोरी’ बाट सहअभिनेत्रीमा एरियाना डिवोस ओस्कार जितिन् । बियोन्से, बाइल्ली एलिस, फिनीस, रेबा म्याकइन्टाएरजस्ता विश्वचर्चित गायिकाले ओस्कारको मञ्चबाट सांगीतिक प्रस्तुति दिए ।
आफ्नी पत्नीको खौरिएको कपालबारे व्यंग्य गरेको भन्दै अभिनेता विल स्मिथले होस्ट रहेका क्रिस रकलाई स्टेजमै चढेर झापड समेत हानेका थिए ।
हेर्नुहोस् ओस्कार अवार्डको ९४ औँ संस्करण विजेता सूची :
फिल्म : कोडा निर्देशक : जेनी क्याम्पियन (द पावर अफ द डग) अभिनेत्री : जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ) अभिनेता : विल स्मिथ (किङ रिचर्ड) सहअभिनेत्री : एरियाना डिबोस (द वेस्ट साइड स्टोरी) सहअभिनेता : ट्रोइ कोत्सर (कोडा) कस्ट्युम डिजाइन : क्रुएला (जेन्नी विभान) ध्वनि : ड्युन ओरजिनल स्कोर : ड्युन (हान्स जिमर) एडप्टेड स्क्रिननप्ले : सायन हेडेर (कोडा) ओरजिनल स्क्रिनप्ले : केनेथ ब्रानग (बेलफास्ट) एनिमेटेड सर्ट : द वाइन्डसिड वाइपर लाइभ एक्सन सर्ट : द लङ गुडबाइ सम्पादन : ड्युन (जोए वाकर) मेकअप एन्ड हेयरस्टाइलिङ : द आइज अफ ट्याम्मी फे एनिमेटेड फिचर : एनकान्टो डकुमेन्ट्री फिचर : समर अफ सउल डकुमेन्ट्री सर्ट : द क्वीन अफ बास्केटबल ओरजिनल सङ : नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल) छायांकन : ड्युन (ग्रेड फेइजर) अन्तर्राष्ट्रिय फिचर : ड्राइभ माइ कार (जापान) प्रोडक्सन डिजाइन : ड्युन भिजुअल इफेक्ट : ड्युन