तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

इजरायलमा बन्दुकधारीको आक्रमणमा दुई प्रहरीको मृत्यु

By खबरहब

March 28, 2022

काठमाडौं– इजरायलमा बन्दुकधारीको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको छ । उत्तरी इजरायलको हादेरा शहरमा दुई बन्दुकधारीले आक्रमण गर्दा दुई प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा अरु ६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई अस्पताल भर्ना गरिएको र दुई जनाको घटनास्थलमै उपचार गरिएको जनाइएको छ । इजरायली सुरक्षा बलको प्रतिआतंकवाद एकाईका सैनिकको जवाफी कारवाहीमा बन्दुकधारीको पनि मृत्यु भएको इजरायली सुरक्षा अधिकारीले जनाएका छन् ।

‘हाम्रा सुरक्षा अधिकारीले बन्दुकधारीलाई निष्क्रिय बनाएर अझ ठूलो आतंककारी आक्रमण हुनबाट जोगाए ।’ इजरायलको राष्ट्रिय प्रहरीका प्रवक्ता एली लेभीले बताए ।

अरब मूलका बन्दुकधारी मध्ये एकले यसअघि इस्लामिक स्टेटमा भर्ना हुने प्रयास गरेको अधिकारीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।

आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ । आतंकवादी गतिविधिको निगरानी गर्ने साइट समूहले जनाएअनुसार सन् २०१७ यता पहिलो पटक इस्लामिक स्टेटले इजरायलमा आक्रमणको जिम्मा लिएको हो ।

इजरायलमा अरब मुलुकहरु, अमेरिका र इजरायलबीच ऐतिहासिक सम्मेलन भइरहेको समयमा आतंककारी आक्रमण भएको हो । केही दिनअघिमात्रै दक्षिणी इजरायलको बिरशेबा शहरमा भएको चक्कु आक्रमणमा चार जना मारिएका थिए ।