तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

रुसी आक्रमणबाट राष्ट्रकविको सालिक जोगाउने खार्किभ वासीको जमर्को 

By खबरहब

March 28, 2022

काठमाडौं– व्यापक रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको खार्किभ शहरका स्थानीयहरु शहरको केन्द्रमा रहेको राष्ट्रकविको विशाल सालिक जोगाउन खटिएका छन् ।

स्थानीयहरुले रुसी आक्रमणबाट जोगाउन युक्रेनी राष्ट्रकवि तरास शोभचेन्कोको सालिक आसपास बालुवा भरिएको बोरा राखेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

१६ मिटर अग्लो उनको सालिक खार्किभकै सबैभन्दा अग्लो रहेको रोयटर्सले जनाएको छ । रुसी फौजले उनको सालिकलाई निशाना बनाएर आक्रमण गर्नसक्ने भन्दै यसलाई जोगाउन स्थानीयहरुले बोरामा बालुवा भरेर सालिक छोपेका हुन् ।

१९ औं शताब्दीमा ख्याति कमाएका शोभचेन्को युक्रेनी भाषामा कलम चलाउने सुरुआती कवि मानिन्छन् । सन् १९९१ मा सोभियत सङ्घबाट स्वतन्त्रता पाएयता युक्रेनका विभिन्न शहरमा चोक, सडक, विद्यालयहरू उनको नामबाट नामकरण गरिएको छ ।

यसबाहेक किभको सबैभन्दा ठूलो विश्वविद्यालयको नामकरण पनि उनकै नामबाट गरिएको रोयटर्सले जनाएको छ ।