तस्वीर- युएसएनआई

अन्तर्राष्ट्रिय

रुसले कृष्ण सागरस्थित नौसैनिक आधारमा दुई वटा डल्फिन तैनाथ गरेको खुलासा

By खबरहब

April 28, 2022

काठमाडौं– रुसले कृष्ण सागरस्थित नौसैनिक आधारको सुरक्षा गर्न डल्फिन तैनाथ गरेको विवरण सार्वजनिक भएको छ ।

युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट (यूएसएनआई) ले तयार पारेको एक प्रतिवेदनमा रुसी नौसेनाले क्राइमिया प्रायद्वीपको सेभास्टोपोल नौसैनिक अड्डामा दुईवटा सैन्य डल्फिन राखेको उल्लेख छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा घोषणा गरेको ‘विशेष सैन्य कारवाही’ थालेयता डल्फिनलाई त्यहाँ सारिएको जनाइएको छ ।

डल्फिनलाई युक्रेनी विशेष बलविरुद्ध ‘काउन्टर–डाइभर अपरेसन’ को लागि रुसले प्रयोग गर्न सक्ने युएसएनआईले जनाएको छ ।

युक्रेनी विशेष फौजले बन्दरगाहमा क्षति पुर्‍याउन सक्ने अनुमानमा डल्फिन परिचालन गरिएको बताइएको छ ।

 रिपोर्टअनुसार सेभास्टोपोल बन्दरगाहमा धेरै रूसी नौसेना युद्धपोतहरू तैनाथ गरिएका छन् । यसअघि उत्तरी जलसेनाको आधारमा रुसले बेलुगा ह्वेल र सिलहरू राखेको दाबी गरिएको थियो । बेलुगा ह्वेलहरू ‘समुद्री जासुसी’ को रुपमा प्रयोग हुन्छन् । 

सन् २०१८ मा सिरियाली युद्धका क्रममा रुसले तारतुसको नौसेना आधारमा पनि डल्फिन प्रयोग गरेको बताइएको थियो ।