तस्वीर- एपी/डालस मर्निङ पोष्ट

अन्तर्राष्ट्रिय

युक्रेनमा युद्ध चलिरहेका बेला अमेरिका र रुसद्वारा बन्दी साटासाट

By खबरहब

April 28, 2022

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणका कारण अमेरिका र रुसबीचको सम्बन्ध चिसिरहेका बेला दुई मुलुकले बन्दी साटासाट गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार दुई मुलुकले बन्दी साटासाट गरेका हुन् ।

रुसले जेलमा रहेका अमेरिकी मरिन फौजका पूर्व सैनिक ट्रेभर रिडलाई रिहा गरेको र बदलामा अमेरिकाले पनि रुसी पाइलट कन्स्टन्टाइन यारोश्चेन्कोलाई रिहा गरेको हो ।

उनीहरुलाई टर्कीमा साटासाट गरिएको रिडका पिता जोइ रिडलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

रिडलाई धेरै रक्सी खाएर प्रहरीमाथि हातपात गरेको आरोपमा सन् २०१९ मा रुसले नियन्त्रणमा लिएको थियो । यता यारोश्चेन्कोलाई अवैध लागूऔषध कोकेन तस्करी गर्ने षड्यन्त्र गरेको आरोपमा अमेरिकामा पक्राउ गरिएको थियो ।

रिडलाई रुसमा ९ वर्षको कारावास सजाय सुनाइएको थियो भने यारोश्चेन्कोले अमेरिकामा २० वर्षको सजाय पाएका थिए ।

अमेरिकी प्रशासन ह्वाइट हाउसले बन्दी साटासाट भएको घटनाको स्वागत गरेको जनाएको छ । यद्यपि बन्दी साटासाट गर्ने कदमले दुई मुलुकबीचको सम्बन्धमा तत्कालै कुनै ठूलो परिवर्तन आइहाल्ने सम्भावना नरहेको एपीले जनाएको छ ।