ब्रेकिङ स्टोरी

‘साइकल लेन भनेको विकास र समताको सूचक हो’

By खबरहब

May 28, 2022

राजनीतिज्ञले हेर्ने भनेको जनताको चाहना हो । आज भन्दा पाँच वर्ष अघि चुनावमा जनताले गरेको मतदान अनुसार तपाइको विचारमा काठमाडौँको समस्या के हो भन्दा ७५ प्रतिशत ‘रेस्पोन्डेन्ट’हरुले प्रदूषण भनेका थिए ।

सायद पाँच वर्षपछि मतदान गर्दा फेरि आउँछ होला । किनभने पाँच वर्षमा त्यति सुधार भएको छैन । त्यसैले त्यो आवश्यकतालाई मध्यनजर गरेर के गर्ने भन्ने योजना आउनुपर्‍यो । अहिले पनि हामीले सुनेको कुरा हो । काठमाडौँ प्रदूषित सहरको सूचिमा शीर्ष स्थानमा पर्छ ।

वायु प्रदूषणको कारणले गर्दा हरेक वर्ष ४२ हजार भन्दा धेरै मानिसको ज्यान गएको छ । यो भनेको १० वर्षको जनयुद्ध र भूकम्प जोड्दा पनि आधा मात्र हुन्छ । वायू प्रदूषणको समाधान खोज्नुपर्छ । त्यसको स्रोत यातायात हो भनेर विभिन्न अध्ययन अनुसन्धानले देखाएका छन् ।

हामी जहिले पनि सीमित स्रोतको आधारमा मात्रै योजना बनाउँछौँ । हामीसँग नियमित स्रोत छैन । ठाउँ पैसा भनेको कहिल्यै नपुग्ने कुरा हो । त्यो के कुरामा खर्च गर्ने भन्ने कुरा हो ? बाटोमा पाँच मिटर मिटर ठाउँ छ भने कसलाई दिने ? गाडीलाई दिने हो भने साढे तीन मिटर दिनुपर्छ । साइकललाई दिने हो भने डेढ मिटर दिनुपर्छ । पैदल यात्रीलाई दिने हो भने त्यो भन्दा कम दिनु पर्ने हुन्छ ।

त्यसैले कसलाई कति दिने भनेर त्यो ठाउँ दिमागमा बनाउनु पर्‍यो । ठाउँ भन्दा पनि प्राथमिकता दिनु पर्‍यो । कति जना व्यक्तिलाई हामीले ट्रान्सपोर्ट गर्न भनेर हेर्ने होे भने प्राइभेट गाडी ‘इनइफिसियन्ट मोड अफ ट्रान्सपोर्ट’ हो ।

राजनीति भनेको समानतामा हुनुपर्छ । समाजवादतर्फ जाने देश हो भने बाटोमा कुन साधन प्रयोग गर्ने भनेर हेर्नुपर्छ । पुरानो तथ्यांक अनुसार ४० प्रतिशत यात्रा पैदल हुने गर्छ । मान्छे जन्मिएर सेलिब्रेट गर्ने भनेकै पहिलो पाइला हिड्ने बेला हो । जब मर्छ त्यतिबेलासम्म पनि पैदल हिँडिरहेको हुन्छ, टेक्छ । मान्छे हिँड्नकै लागी जन्मेको हो भन्ने गरिन्छ । त्यसैले पैदल यात्रीको आवश्यकता बुझ्नुपर्छ ।

फ्लाईओभर चाहिएला । नचाहिने भनेको होइन । तर प्राथमिकता दिने भनेको सामान्य फुटपाथमै हो । कुनै पनि समाजमा लोकतन्त्रको गहिराई भनेको फूटफाथको चौडाईले नाप्ने गर्छ । त्यो भनेको समताको कुरा हो । साइकल लेन भनेको सूचक हो । र, त्यो सूचक अहिले ललितपुरमा छ । त्यो साइकल लेन म त प्रयोग गर्छु । त्यो अरुले प्रयोग गर्छ गर्दैन थाहा छैन । कतिपय जनाले भन्नु हुन्छ, साइकल चढ्ने मान्छे नै छैन । किन साइकल लेन बनाउने हो ? यो भनेको त खोला तरेर जाने मान्छे छैन, किन पुल बनाउने भन्ने हो ।

(खबरहबद्धारा आयोजित ‘साइकलमैत्री सहर’का विषयमा वातावरणविद् भुषण तुलाधरले राखेको धारणाको सम्पादित अंशः)

[प्रस्तुति : विपना थापा]