देश/प्रदेश

गाईघाट–दिक्तेल सडकको अस्थायी बेलीब्रिज सञ्चालन

By खबरहब

May 28, 2022

उदयपुर – सुनकोसी नदीको अस्थाई बेलिब्रिज हटाएसँगै उदयपुर र खोटाङ सदरमुकाम दिक्तेलबीचको सिधा यातायात सेवा बन्द भएको छ । बर्खा लागेसँगै सुनकोसीमा पानीको सतह बढ्ने भएकाले फोक्सिङटारको अस्थायी बेलिब्रिज हालै निकालिएको हो ।

दिक्तेल–गाईघाट सगरमाथा लोकमार्ग सडक खण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ फोक्सिनटारस्थित सुनकोसीमा पानीको बहाव बढ्न थालेकोले झिक्न सुरु गरिएको हो ।

सुनकोसीस्थित फोक्सिङटारमा गत मंसिरमा बेलिब्रिज जडान गरिएको थियो । गत १ पुसदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज बिहीबारदेखि निकाल्न सुरु गरिएको गाईघाट दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन प्रमुख गोपालप्रसाद खकुरेलले जानकारी दिए ।

हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा विगत सात वर्ष अघिदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाइ भएको अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको छ । वर्षायाम सुरु भएसँगै फोक्सिङटारको बेलिब्रिज निकाल्ने गरिन्छ । बेलिब्रिजको सामान खोलेर निकाल्न तीन चार दिन लाग्ने गाईघाट दिक्तेल सडक योजनाले जनाएको छ । १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज हटाइएपछि गाईघाटबाट दिक्तेल जाने सिधा यातायात सात महिनाका लागि बन्द भएको छ ।

फोक्सिङटारको बेलिब्रिज निकालेपछि पूर्वी शहर जान–आउनका लागि खोटाङबासीलाई एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता छ ।