मनोरञ्जन

अनुप भन्छन्,’तटस्थ भएर द्वन्द्वलाई हेर्ने प्रयास गरेको छु’

By खबरहब

June 28, 2022

काठमाडौँ- फिल्म ‘दोख’ को ट्रेलर सार्वजनिक भएको छ । एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा निर्देशक अनुप बरालले लामो समयदेखिको भारी बिसाउन लागेको बताएका छन् । ‘हामीले भूकम्पअघिबाट यो फिल्मको सुटिङ थालेका थियौँ तर भूकम्प , नाकाबन्दी, महामारी सबै अप्ठेरो अवस्थामा हामीले यो फिल्मलाई बोक्यौँ,’ उनले भने, ‘तर यो फिल्मको भारी गह्रुँगो छैन । छरितो छ भन्ने विश्वास छ ।’

फुटबल खेलबाट सामुदायिक वन उपभोगको विषयलाई टुङ्गो लगाउने विषयलाई फिल्ममा प्रस्तुत गरिएको छ । ट्रेलरले फिल्म माओवादी कालखण्डको कथामा बनेको पनि स्पष्ट सङ्केत गर्छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै द्वन्द्वका कथामा फिल्म बनाउने समय बल्ल सुरु भएको पनि जिकिर गरेका थिए ।

‘द्वन्द्व कथामा अहिले फिल्म बनाउनु भनेको घाउ कोट्याउनु होइन । भविष्यमा हुने यस्ता द्वन्द्वले पार्ने प्रभावका बारेमा पूर्व चेतना दिने पनि हो । फेरि म कथा कहिले भन्ने भन्दा पनि कसरी भन्ने कुरामा विश्वास गर्छु । तर द्वन्द्वको कथामा मैले पक्ष विपक्ष लिनेभन्दा पनि तटस्थ भएर द्वन्द्वलाई हेर्ने प्रयास गरेको छु,’ अनुपले भने ।  राजन कठेतको लेखनमा तयार भएको फिल्ममा मनिष निरौला, दिया मास्के, सुरज मल्ल, रोभदिभ आदि कलाकारको अभिनय रहेको छ ।