फाइल फोटो

समाचार

सडकमा खानेकुरा बेच्न निषेध

By खबरहब

June 28, 2022

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ ।   

पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लगाएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने कामपाले चेतावनी दिएको छ ।

 होटल रेष्टुराको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए । पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरिएको उनले बताए ।  

सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई जीवनजल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको र बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाइएको त्रिपाठीले बताए । नागरिकको सहजताका लागि कामपाले २४सै घण्टा ११८० हटलाइन टेलिफोन सोमबारदेखि सञ्चालनमा ल्याएको छ ।