गत जुलाई ७ मा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई चुनावी सम्बोधनका क्रममा एक युवकले गोली हानी हत्या गरे। यस्ता भीभीआईपीको जापानमा गोली हानी हत्या गरिएका घटना विरलै हुने गरेका थिए।
जापानलाई आधुनिक जापान बनाएका आबेको हत्याले विश्व नै आश्चर्यमा पर्यो । आगामी चुनावताका नेपालमा पनि कतै यस्तै अप्रिय घटना घट्ने होइन भनेर चिन्ता व्यक्त गर्न थालिएको छ ।
मुख्य गरी नेपालका पूर्वप्रधानमन्त्रीहरु त्यस्तै असुरक्षाको घेरामा रहेको सुरक्षाविदहरु बताउँछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल, त्यसैगरी रामचन्द्र पौडेल, वामदेव गौतम, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेता अब जनताको निसानामा परिरहेका छन् ।
ती नेताहरुलाई पछिल्लो समय सामाजिक सञ्जाजमार्फत पनि उत्तिकै विरोध जनाउने गरिएको छ ।
वि.सं. २०६२/६३ सालको जनआन्दोलनपछि प्राप्त गणतन्त्र र त्यसको नाममा टेकेर शीर्ष नेताहरुले गरेको देशमाथिको गद्दारी, बेइमान र धोकाका कारण जनता नेता तथा मन्त्रीहरुसँग आक्रोशित छन् ।
नेपालमा पनि जापानमा जस्तै घटना त नघटोस् । त्यस्तै कल्पना पनि नगरौँ तर यो सत्य हो कि मुलुक नबनेर आक्रोशित जनताको भीड सरकारविरुद्ध जतिखेर पनि खनिन सक्छ । उनीहरुलाई आक्रमण गर्ने, उनीहरुका कार्यक्रममा विरोध गर्ने, कालो झण्डा प्रदर्शन गर्ने लगायतका गतिविधि आगामी चुनावसम्म नदेखिएलान् भन्न सकिन्न ।
अहिलेको विभिन्न परिदृश्यलाई हेर्दा एक समूह यी शाषकहरुलाई आगामी चुनावमा हराउने योजनामा रहेको देखिन्छ भने अर्को समूह प्रतिकार गर्ने प्रयत्नमा देखिन्छ । यसैको पछिल्लो उदाहरण हो, गत सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा युवाको विरोध तथा प्रदर्शन ।
कमलादीस्थित प्रज्ञा भवनमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री सहभागी थिए । बोल्ने पालो प्रधानमन्त्रीकै थियो । त्यहीबेला एक युवक एक्कासि नाराबाजी गर्न उत्रिए । देउवा अगाडि नै नागरिकता विधेयक खारेज गर भन्दै उनले नाराबाजी गरे ।
उनलाई देउवाका सुरक्षा गार्डले लछारपछार गर्दै बाहिर निकाले । लगत्तै एमसीसीको मतियार मुर्दावाद, देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौँ भन्दै अर्का व्यक्तिले पनि नाराबाजी गरेपछि एकछिन कार्यक्रमको वातावरण नै खलबलियो । यो त पछिल्लो उदाहरण मात्र हो । त्यसअघि पनि केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल लगायतले झापड र जुत्ता खाइसकेका छन् । त्यति मात्र नभएर नेताहरु विभिन्न कार्यक्रममा उद्घाटनमा जाँदा जनताले ढुङ्गा बर्साएको, बाटो छेकेको लगायतका घटना पनि आइरहेका छन् ।
यी घटना अस्वाभाविक नभएर स्वाभाविक किन हुन् भने गणतन्त्रपछिका १५ वर्षसम्म शासन गरेका केही नेताले मुलुकको हितलाई राखेर कहिल्यै पनि काम गरेनन् । जनताको करमा भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने अनि आफ्ना स्वास्नी, छोराछोरी, नालनातालाई देशविदेश कहाँ हुन्छ राम्रो ठाउँमा सेट गर्ने, बिरामी हुँदा आफूहरु विदेशमा उपचार गर्न जाने तर जनता रोग र भोकले जति निसास्सिए पनि मतलब नगर्ने नेताको परिपाटीले जनता विद्रोहको नजिक गइरहेका छन् ।
मुलुक विकासका ठूल्ठूला कुरा गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी ओली, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनालकै पालामा राष्ट्रघाती सम्झौता भएका छन् । भ्रष्टाचार, घोटाला र बेथितिका समाचारहरुले प्रमुख स्थान पाए ।
राणा, पञ्च र राजा फालेपछि मुलुकमा कायापलट हुन्छ, नेपाललाई सिंगापुर, स्विटजरल्याण्ड बनाउँछौँ भन्ने नेताहरु आफू बन्नुबाहेक गणतन्त्रपछि केही गर्न सकेनन् । दिनप्रतिदिन मुलुक खोक्रो बन्दै छ । कतिपयले मुलुकको हालत पनि श्रीलंका नै हुने त होइन भन्ने प्रक्षेपण पनि गरिसकेका छन् ।
वैदेशिक ऋणले मुलुक चुर्लम्ब डुबेको छ । ८ देखि १० प्रतिशत सम्मको महंगीको मारले जनता थिचिएका छन् । उद्योग कलकारखाना बन्द छन् । स्वदेश बस्ने मानिसको आय घटेर जहान परिवार पाल्न धौ–धौ हुने स्थिति देखिएको छ ।
गणतन्त्रपछि भएका ४ वटा निर्वाचनमा विकासको ललिपप देखाएर उनै नेताहरुले निर्वाचन जिते । घुमीफिरी रुम्जाटार भनेझैँ आलोपालो गर्दै सरकारको नेतृत्वमा तिनै भए । यस्तो क्रम करिब १६ वर्षसम्म दोहोरिइरह्यो ।
अति भएपछि अब भने जनताले विद्रोहको स्वर प्रस्फुटन गर्न थालेका छन् ।
मुलुकमा भएका वर्गीय विभेद अन्त्य गर्ने, शोषण दमनको समुल नष्ट गरी समाजवाद कायम गर्ने यी नेताको भाषण केवल ओठ र जिब्रोमा सीमित भयो । राष्ट्रवादको खोक्रो नारा दिएर देशलाई विदेशीको इसारामा चलाउने नेता यिनै भए, देशका नदीनाला, स्रोत साधन, उद्योग कल कारखाना बेच्ने यिनै भए ।
राजतन्त्रको राज हटाएर गणतन्त्र, शाही नेपाली सेनाको शाही हटाएर नेपाली सेना, महेन्द्र राजमार्गको महेन्द्र हटाएर लोकमार्ग बनाउनेबाहेक यी नेताले अरु त्यस्तो ठूलो केही उपलब्धि नगरेकै कारण गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि नयाँ प्रयोग भएको छ ।
यो पनि यिनै नेतामाथिको विद्रोह हो भन्न सकिन्छ । नेपालमा भएका नागरिक अनागरिक सरह यहीँ भोकै मर्नुपर्ने र विदेशमा रहेका पनि शोषण, दमन र अत्याचारमा मर्नुपर्ने नियतिले मुलुकको भविष्य राम्रो देखिन्न ।
त्यसैले अबको विकल्प भनेको यिनीहरु सच्चिएर आउनु, जनतासँग माफी माग्नु, मुलुकको नेतृत्वमा नयाँ पुस्तालाई अगाडि सार्नु हो ।
यी तीन विकल्प उनीहरुले दिन सकेनन् र फेरि पनि यिनै प्रधानमन्त्री बन्ने दौडमा लागे भने जनताको विद्रोह स्वभाविक रुपमा प्रकट हुनेछ । त्यो प्रकटीकरण जापानमा जस्तो नहोला, तर पूर्वप्रधानमन्त्री र जनताका अप्रिय नेताविरुद्ध विद्रोह गर्ने, ढुंगा जुत्ता बर्साउने, बाटो छेक्ने आदि कार्य हुनेमा कुनै शंका छैन ।