दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

By खबरहब

July 28, 2022

काठमाडाैँ- आज दिनभर राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित, अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौँमा, बाबुरामको पार्टी आयोगमा दर्ता, महंगीविरुद्ध एमालेले प्रदर्शन गर्ने, ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका शीर्ष समाचारहरूः

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित राष्ट्रियसभाबाट नागरिकता संशोधन विधेयक पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेकाे सो बिधेयक पारित भएको हो ।

त्यसअघि बिधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री बालकृष्ण खाणले संविधान बनेको सात वर्ष पूरा हुँदासमेत लाखौँ नेपाली युवाले नागकिरता पाउन नसकेकाले उनीहरुलाई नागरिक बनाउन विधेयक ल्याइएको बताए ।

गृहमन्त्री खाणले यसपटकको विधेयकमा सत्तासिन दल र प्रतिपक्षी दलसँग बारम्बार छलफल गरेर नै विधेयक अघि बढाइएको प्रष्ट्याए ।

बाबुरामको पार्टी आयोगमा दर्ता पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी दर्ता गरेका हुन् ।

भट्टराईले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा लडेर जितेका थिए ।

जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति गरेका थिए । जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो अब यो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गर्नेछ ।

अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौँमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भम्रणका क्रममा नेपाल . आइपुगेका छन् ।

दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू आज अपरान्ह काठमाडौं आइपुगेका हुन् । नेपाल भ्रमणका क्रममा लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

यसअघि आज नै नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी सहायक विदेश मन्त्री लुको नेपाल भ्रमण नियमित भएको स्पष्ट पारिसकेको छ ।

भूतपर्व गोरखासँग मन्त्रीको छलफल प्रतिनिधिसभा अन्र्तगतको संसदीय समितिले गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुर (बिगेसो) को मागबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सेवा, सुविधामा ठगिएका सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरुको मागबारे सम्बोधन गर्न परराष्ट्रमन्त्री खड्कालाई बैठकमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।

सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरुको समस्या समाधानबारे समय मिलाएर परराष्ट्रमन्त्री खड्कासँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिए ।

महंगीविरुद्ध एमालेले प्रदर्शन गर्ने नेकपा (एमाले) ले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । सरकारले महंगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमालेले साउन १६ गते काठमाडौंमा जनप्रदर्शन गर्न लागेको हो ।

एमालेको पार्टी कार्यालय च्यासलमा आज उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुखसहितको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महंगीले जनता ठूलो मारमा परेपनि महंगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खवरदारी गर्नुपर्ने बताए ।

७ सय १० जनामा कोरोना संक्रमण पुष्टि नेपालमा थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ४१ पिसिआर परिक्षणका क्रममा ५ सय २४ जना र २ हजार ४ सय ८४ एन्टीजेन परिक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय १५ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार २ सय ३६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भदौ १ गतेदेखि फोहोर फाल्न नदिने बञ्चरेडाँडाका स्थानीयको चेतावनी नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेदेखि डम्पिङ साईट अनिश्चित्कालका लागि बन्द गर्ने चेतावनी दिएको छ ।

फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष सम्वेदनशील क्षेत्रबाट मानव बस्तीहरु अलग गर्नेलगायतका आवश्यक कार्यको प्रारम्भ आगामी साउन ३१ गतेसम्म सुरु नगरे सधैंका लागि बन्द गर्ने चेतावनी दिएको हो ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर समितिले नेपाल सरकार, राजनीतिक दलहरु, प्रशासनिक तथा न्यायिक निकाय, काठमाडौं महानगरपालिकासमेतलाई अन्तिमपटक अनुरोध गरेको जनाएको छ ।

सरकारले समितिसँग गरेको सहमति विभिन्न बहाना बनाएर षड्यन्त्र गरी कार्यान्वयन नगर्ने नियत बुझिएको भन्दै उपत्यकाको फोहोरमैला सिसडोल बञ्चरेडाँडा लैजान सधैंको लागि बन्द गर्ने बाध्यकारी आन्दोलन गर्नुको विकल्प नरेहकोसमेत जनाइएको छ ।