फाइल तस्व‍ीर

समाचार

भक्तपुर नगरपालिकाद्वारा मासु पसल अनुगमन

By खबरहब

September 28, 2022

भक्तपुर- दसैँ नजिकिएसँगै बजारमा मासु पसललाई कानुनी दायरामा ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले आज कमल विनायक क्षेत्रका मासु पसलको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा अधिकांश पसल दर्ता नवीकरण नगरेको, फोहर रहेको पाइएको छ ।

समितिका संयोजक गोराले भने, “मासु पसलको अनुगमनमा गर्दा मासुमा झिँगा भन्किएको, पसल दर्ता नगर्ने, दर्ता गरेकाले पनि वर्षौँदेखि नवीकरण नगर्ने, मार्बल वा टायल नराखेको, तराजु नवीकरण नभएको, फोहर पानीले मासु सफा गरेको, पानी ढल निकासमा सजिलै जाने गरी निकासको व्यवस्था नगरेको, कामदारलाई बुट र पञ्जाको व्यवस्था नगरेको पायौँ, उनीहरूलाई यो सबै व्यवस्था गर्न निर्देशन दिएका छौँ ।”

बजार निरीक्षक रामकृष्ण प्रजापतिले अनुगमनका क्रममा नियम पालना नगर्नेको सम्पूर्ण कागजपत्र लिएर तीन दिनभित्र नगरपालिकामा हाजिर हुन निर्देशन दिएको बताउँदै दर्ता नवीकरण नभएका ढक तराजु जफत गरिएको बताए।