काठमाडौँ- बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागेको नवौं एशियन टुरिजम फेअर नामक पर्यटन प्रदर्शनीमा सहभागी हुन नेपालबाट १२ जना पर्यटन व्यवसायीहरु त्यसतर्फ प्रस्थान गरेका छन् ।
कार्यक्रममा सहभागी हुन जाने व्यावसायीहरुको टोलीलाई नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा अध्यक्ष रमेश थापा, निवर्तमान अध्यक्ष अच्यूत गुरागाई र महासचिव कुमारमणी थपलियाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदाई गरेका छन् ।
प्रदर्शनीमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नाट्टाका वरिष्ठ उपाध्यक्ष प्रमोद दाहालले गर्नेछन् । प्रदर्शनी आगामी सेप्टेम्बर २९ देखि अक्टोबर १ सम्म सञ्चालन हुने नाट्टाले जनाएको छ ।
यस वर्षको कार्यक्रममा आयोजकले नेपाललाई ‘पार्टनर कन्ट्री’ को स्थान दिएको नाट्टाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रदर्शनीअंतर्गत बंगलादेशस्थित नेपाली राजदूतावासले रात्रिभोजसहित नेपाल नाइट नामक कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।
कोभिड–१९ को महामारीले प्रभावित पर्यटन व्यवसाय पुनः सुचारु हुन लागेको एवम् नेपालमा पर्यटन सिजन पनि सुरु हुन लागेको समयमा बंगलादेशमा आयोजना गरिने यस क्षेत्रमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।