तस्वीर- ईपीए/ईएफई

अन्तर्राष्ट्रिय

रूसी तथा चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन वार्ता

By खबरहब

October 28, 2022

काठमाडौँ- चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभबीच टेलिफोन वार्ता भएको छ । उनीहरुबीच बिहीबार फोनमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हालैमात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई सत्तारुढ कम्युनिष्ट पार्टीको एवम् मुलुकको राष्ट्रपतिमा ऐतिहासिक तेस्रो पटक चयन भएकोमा बधाई सन्देश पठाएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनबाट चिनियाँ राष्ट्रपति सी महासचिवमा पुनः चयन भएका हुन् ।

टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री लाभ्रोभले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चयन भएकोमा राष्ट्रपति सी तथा पोलिटब्युरो सदस्यमा चयन भएकामा विदेशमन्त्री वाङलाई बधाई दिएको सिन्ह्वाले जनाएको छ ।

त्यस क्रममा विदेशमन्त्री वाङले चीन र रुसबीचको सम्बन्धलाई थप बलियो र प्रगाढ बनाउनेतर्फ आगामी दिनमा चीन लागिपर्ने बताएका थिए ।

टेलिफोन वार्ताका क्रममा उनीहरुका बीचमा दुई देशबीचको आपसी हित र सम्बन्धको साझेदारीका विभिन्न विषयमा पनि कुराकानी भएको बताइएको छ ।