महोत्तरी– महोत्तरीको भंगाहा नगरपालिकामा सबै राजनीतिक दलहरूले सामाजिक सद्भाव र्याली निकाल्ने भएका छन् । बिहीबार मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि शुक्रबार राजनीतिक दलहरुले सामाजिक सद्भाव र्याली निकाल्ने तयारी गरेका हुन् ।
शुक्रबार बसेको सर्वदलीय बैठकले शुक्रबारनै नगरपालिका क्षेत्रमा सामाजिक सद्भाव र्याली निकाल्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । हिन्दु र मुस्लिम समुदायको बाहुल्यता रहेको भंगाहामा झण्डाको विषयलाई लिएर बिहीबार दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशसमेत जारी गरेको छ ।
नगरपालिकाको पहरिया चोकमा मुस्लिमहरूले राखेको झण्डा भएको ठाउँमा हिन्दुहरूले पनि राख्ने तयारी गरेपछि दुई समूहबीचको झडपले उग्ररूप लिएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो भने त्यतिकै सङ्ख्यामा हवाइ फायर गरेको थियो । झडपमा दर्जनौँ सङ्ख्यामा स्थानीय र प्रहरी घाइते समेत भए ।
थप हिंसा भड्कन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालको लागि कर्फ्युलाई जारी राखेको छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको छ । आपसी मनमुटावमा समझदारी भएको छ, सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले भने, दलहरूले धार्मिक हिंसा नभड्कियोस भनेर संयमता अपनाएका छन् । हामीले पनि यसलाई गम्भीररुपमा लिएर सोहीअनुसार काम गरिरहेका छौँ ।