समाचार

महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति गर्न गृहको निर्देशन

By खबरहब

March 29, 2022

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं ७ मा रहेको महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति हुने भएको छ।

नगरपालिकाको एक लाख ३३ हजार जनसङ्ख्यामध्ये आधा जनसङ्ख्या रहेको वडा नं ७, ८ र ९ को शान्ति सुरक्षा हेर्ने प्रभागमा जनशक्ति कम हुँदा शान्ति सुरक्षामा प्रभाव परेको भन्दै नगरप्रमुख कृष्णहरि थापाले गृहमन्त्रालयलाई पत्र लेखेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पात्राचार गरेको छ ।

मागबमोजिम मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई प्रभाग स्तरोन्नतिको आवश्यक व्यवस्था गर्न भनेको छ। नगरपालिकासँगै फुल्चोकी सेवा समाजका अध्यक्ष दीपक केसी र नागेश्वर वाणेश्वर महादेव व्यवस्थापन समितिका अध्यक्ष प्रकाशगम्भीरसिंह रायमाझीले गृहमन्त्री बालकृष्ण खाँणलाई लेखेको पत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा जनशक्ति बढाउन माग गरिएको थियो ।

घना र अव्यवस्थित बस्ती भएकाले सीमित जनशक्तिले गस्तीसमेत गर्न नसक्दा शान्ति सुरक्षामा समस्या भएको स्थानीयवासी एवं समाजसेवी रायमाझीले बताए । रायमाझीको नेतृत्वमा यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम गराउने उद्देश्यले प्रहरी प्रभाग स्थापना भएको थियो ।

यस स्थलमा प्राचीन सम्पदाका रूपमा नागेश्वर मन्दिरको स्थापना भएपछि त्यसको सुरक्षाका लागि पुरातत्व विभागको समेत समन्वयमा प्रहरी प्रभाग स्थापना भएको हो । मन्दिरमा सोमबार, शनिबार एवं विभिन्न पर्वका अवसरमा भक्तजनको भीड लाग्ने गर्छ ।