तस्वीर- युक्रेनिन्फोर्म

अन्तर्राष्ट्रिय

रुसी सेना बलात्कार र यौन दुर्व्यवहारमा संलग्न रहेको युक्रेनी सांसद्को दाबी

By खबरहब

March 29, 2022

काठमाडौं- रुसी फौजले युक्रेनमा महिलाहरुमाथि बलात्कार र यौन दुर्व्यवहार गरेको युक्रेनी सांसद्ले दाबी गरेकी छिन् । बेलायती समाचार च्यानल स्काई न्यूजसँगको कुराकानीका क्रममा युक्रेनी सांसद् एवम् युरोपेली परिषद्को संसदीय सभामा युक्रेनी प्रतिनिधिमण्डलकी प्रमुख मारिया मेज्नेत्सेभाले रुसी सेनाले युक्रेनमा महिलामाथि बलात्कार र यौन दुर्व्यवहार गरेको दाबी गरेकी हुन् ।

‘त्यहाँ एउटा मुद्दा छ, जुन हालै धेरै चर्चा गरिएको थियो किनभने यो अभियोजनकर्ताको कार्यालयमा दर्ता भएर अगाडि बढिरहेको छ । हामी विस्तृतमा नजाऔँ तर, यो एकदम डरलाग्दो दृश्य हो । राजधानी किभनजिकै एउटा सहरमा एकजना नागरिकलाई उसको घरमा गोली हानेर मारिएको थियो ।’ उनले अगाडि भनिन्, ‘अनि उनकी श्रीमतीलाई – माफ गर्नुहोला मैलो यो भन्नै पर्छ – उनको सानो बच्चाकै अगाडि बलात्कार गरिएको थियो ।’

मादक पर्दाथले उत्तेजित सिपाहीले घरमा पसेपछि श्रीमानको हत्या गरेको र आफ्नी पत्नीलाई बारम्बार बलात्कार गरेको युक्रेनकी अभियोजनकर्ता जनरल इरिना भेनेदिक्टोभाले बताएकी छिन् ।

युक्रेनमाथि आक्रमण गरिरहेको रुसी सेना युद्ध अपराधमा संलग्न भएको आरोप लागिरहेका बेला युक्रेनी सांसद्को यस्तो भनाइ आएको हो ।