काठमाडौं- इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा पहिरोमा परी सुन खानीमा काम गर्ने १२ महिला कामदारको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएको प्रहरीले जनाएको छ । उक्त सुन खानी अवैध रुपमा सञ्चालित रहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मण्डैलिङ नाताल क्षेत्रको बन्दर लिमाबुङ गाउँमा पहिरो जानुअघि अवैध सुन खानीमा केही व्यक्ति काम गरिरहेका थिए ।
अचानक चट्टानको एक भाग भत्किएको र यसमा परी खानीमा काम गरिरहेका महिलाहरू मारिएका जिल्ला प्रहरी प्रमुख रजा चेरुलले स्थानीय सञ्चारमाध्यमलाई बताए ।
दुर्घटनाको छानबिन भइरहेको पनि उनले जानकारी दिएका छन् । खानीमा काम कुल १४ जना पहिरोमा गाडिएका थिए ।
ती मध्ये दुईजना बाँचेको र मृतकको शवलाई प्रहरीले परिवारलाई फिर्ता गरेको जनाइएको छ । इन्डोनेशियामा धेरै खानीहरु बिना इजाजतपत्र सञ्चालनमा रहेको बताइएको छ ।
गतवर्ष त्यहाँको सुलावेसी प्रान्तमा अवैधानीक रुपमा सञ्चालन भएको सुन खानीमा गएको पहिरोमा परी ६ जना कामदारको मृत्यु भएको थियो ।