तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

लद्दाखका संवेदनशील पूर्वाधारलाई लक्षित गरी चिनियाँ ह्याकरद्वारा साइबर आक्रमण

By खबरहब

April 29, 2022

काठमाडौं– चिनियाँ ह्याकरहरुले भारतको लद्दाखमा रहेको संवेदनशील पूर्वाधारलाई लक्षित गरी साइबर आक्रमण गरेको खुलासा भएको छ ।

अमेरिकी साइबर सुरक्षा सम्बन्धी संस्था रेकर्डेड फ्युचरले चिनियाँ ह्याकरहरुले लद्दाखमा रहेको उर्जा पूर्वाधारमा साइबर हमला गरेको जनाएको हो ।

ह्याकरहरुको गतिविधि ठूलो स्तरमा स्वचालित सञ्जालको विश्लेषण र विशेषज्ञहरुको जानकारीका आधारमा पत्ता लागेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनीहरुलाई चीन सरकारले प्रायोजन गरेको र भविष्यमा भारतसँग द्वन्द्व उत्पन्न भएको खण्डमा पूर्वाधारलाई लक्षित गर्नका लागि ह्याकिङ गरिएको हुनसक्ने बताइएको छ ।

‘सो क्षेत्र आसपास रहेका संवेदनशील पूर्वाधारबारे सूचना संकलन गर्न वा भविष्यका लागि तयार रहन साइबर आक्रमण भएको भन्ने हाम्रो विश्वास छ ।’ रेकर्डेड फ्युचरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि रेकर्डेड फ्युचर अन्तर्गत इनिस्किट ग्रुपले सन् २०२१ फेब्रुअरी महिनामा पनि भारतीय पूर्वाधारलाई लक्षित गरी यस्तै साइबर हमलाको प्रयास भएको जनाएको थियो ।