बलिउड/हलिउड

इरफानलाई सम्झाउने फिल्महरू 

By खबरहब

April 29, 2022

काठमाडौँ- बलिउडमा अभिनेता इरफान खानले संसार छाडेको दुई वर्ष बितिसकेको छ । यद्यपि उनका कामले अझै पनि चर्चा पाउने गरेका छन् । ५४ वर्षको उमेरमा इरफानले सन् २०२० को अप्रिल २९ मा संसार छाडे । जीवन्त अभिनय गर्ने कलाकारमा पर्ने उनी फिल्म र थियटरका चम्किला तारा थिए । बलिउड हुँदै हलिउडसम्मको फिल्ममा काम गरेका इरफानले  गरेका कामहरुले धेरैलाई प्रभावित बनाउने गरेको छ । पात्रलाई आफूमा ल्याउने र आँखा मार्फत भाव व्यक्त गर्ने इरफानको कामहरू अझै पनि धेरैका लागि ‘सिकाई’ बनेकै छ । उनको कामले आज पनि क्यारेक्टरमा जीवन खोज्नेलाई प्रभावित बनाउने गरेको छ । 

अन्तिम फिल्म अंग्रेजी मिडियममा देखिएका इरफानले आमा गुमाएको केही दिनमै संसार छाडेका थिए । पहिलोपटक ‘पान सिंह तोमार’ मार्फत नेशनल अवार्ड जितेका इरफान त्यो फिल्म भन्दा अगाडि टुटिसकेका थिए । आफूलाई काम गर्न मन लागेको कथा नपाउँदा बलिउडमा मसाला फिल्ममा देखिरहेका उनले विश्राम लिने सोच समेत बनाएका थिए । जीविकोपार्जनकै लागि उनी अभिनयलाई मारेर काम गर्ने सोचमा थिएनन् । उनले नजिकका साथीलाई बाँकी समयमा थियटरमा केन्द्रित हुने समेत बताएका थिए ।

तर , इरफानको मेहनतलाई नजिकबाट नियालिरहेका साथी तिमांशु धुलियाले उनलाई अन्तिम समयमा ‘पान सिंह तोमार’ अफर गरे । फिल्मको स्क्रिप्ट नै सुनाउने समयमा निर्देशक तिमांशुले इरफानलाई भनेका थिए ,’कहाँ घर जाने कुरा गर्छौ । आउँ , पहिला नेशनल अवार्ड जित्ने फिल्म गर ।’ त्यसपछि कथाले इरफानको मन छोयो र उनले फिल्म गरे । फलतः: त्यो फिल्मले उनको अभिनय क्षमतालाई अझै चिनायो । त्यसपछि उनले आफूले चाहे अनुसारको फिल्म गर्दै बलिउडमा अगाडि बढे । यिनै इरफानले केही फिल्म गरेका छन् । जसमा उनले गरेको कामको चर्चा अझै हुने गरेको छ । यी फिल्म मार्फत इरफान दर्शकको मनमा रहिरहनेछन् । 

मकबुल (२००३)

विशाल भारद्वाजद्वारा‍ निर्देशित फिल्म ‘मकबुल’ सन् २००३ मा रिलिज भएको थियो । यस फिल्म मार्फत इरफान चिनिएनन् मात्र , आफ्नो अभिनय क्षमता पनि देखाए । नसिरुद्दिन शाह, ओम पुरी, पंकज कपुर जस्ता कलाकारको बीचमा उनले देखाएको अभिनयको चर्चा भयो । इरफानको राम्रो फिल्ममा यो पर्ने गरेको छ ।

पान सिंह तोमर (२०१२)

यो फिल्म अगाडि इरफान दिक्दार भइसकेका थिए । आफूले चाहे जस्तो फिल्म नगर्न पाउँदा उनी दुखी थिए । जीविकोपार्जन गर्नकै निमित्त बलिउडका रेगुलर फिल्म गरिरहेका इरफानले फिल्म नै छाड्ने मनसाय पनि बनाएका थिए । निर्देशक तिग्मांशु धुलियाले उनलाई कथा सुनाउदै फिल्म गर्न प्रेरित गरेका थिए । फिल्ममा इरफान यस्ता धावक थिए । तर, जिन्दगीको अनुभव निकै तितो छ जसले उनलाई डाँकु बनाउँछ। एउटा धावकको भूमिका इरफानले उत्कृष्ट तरिकाले निर्वाह गरेका छन्। यो फिल्मले उनलाई पहिलोपटक नेशनल अवार्ड विजेता बनाएको थियो ।

लाइफ अफ पाई (२०१२)

ओस्कार अवार्डमा निर्देशक तर्फको अवार्ड आङ्ग लीले ‘लाइफ अफ पाई’ मार्फत अवार्ड जितेका थिए । सुरज शर्मा, इरफान खान, तब्बू आदि भारतीय कलाकारलाई प्रमुख भूमिकामा अभिनय गराई बनाइएको ‘लाइफ अफ पाई’ हलिउड फिल्म हो । यो फिल्ममा इरफानले निर्वाह गरेको भूमिकाको निकै तारिफ भएको थियो ।

पिकु (२०१५)

शुजित सरकार निर्देशित फिल्ममा दुई दिग्गज अभिनेता अमिताभ बच्चन र इरफान खानसँगै देखिएका थिए । साथमा थिइन् , दीपिका पादुकोण । इरफान र अमिताभको अभिनयको जादुले फिल्म हेर्दा दर्शकले समय कटेको पत्तै पाउँदैनन्। अमिताभ र इरफानले सहज रूपमा आफ्नो भूमिका निर्वाह गरेका छन्। सुटिङको अन्तिम दिन इरफान यति भावुक भएका थिए कि उनले अमिताभलाई अँगालो हालेर गालामा चुम्बन नै गरिदिए ।

मदारी (२०१६),

इरफान अभिनित राम्रो फिल्ममा पर्छ, मदारी । उनले यसमा एक पिताको भूमिका निर्वाह गरेका छन् । जसले बदला चाहेको हुन्छ , तर उनी पिता हुन्छन् । एउटा पिताले बदला लिने कि बच्चालाई बचाउने बीचको संघर्षनै फिल्ममा छ । गृहमन्त्रीका आठ वर्षीय एक मात्र छोरा रोहन गोस्वामी (विशेष वंशल) को अपहरणबाट फिल्मको कथा सुरू हुन्छ । फिल्ममा इरफान गृहमन्त्रीका छोरा अपहरण गर्ने पात्र निर्मल कुमार बनेका छन्।

हिन्दी मिडियम (२०१७)

इरफानको पछिल्लो कमर्सियल हिटमा पर्छ, हिन्दी मिडियम । समीक्षक र दर्शकले उत्तिकै रुचाएको फिल्म मार्फत उनले नेशनल अवार्ड जितेका थिए । यो उनको दोस्रो नेशनल अवार्ड थियो । कमेडी गर्न उट्पट्याङ अनुहार बनाउनु, नमिल्दो मेकअप गर्नु, जोकर जस्तो भएर कपडा लगाउनु, द्विअर्थी संवाद बोल्नु जरुरी छैन भन्ने कुरा इरफानले अभिनयमार्फत यो फिल्ममा देखाएका छन् । उनको कमिक टाइमिङ फिल्म भित्र बेजोड छ।