मनोरञ्जन

भोलाको सम्झनामा ‘इरफान’ : सरल स्वभावका दमदार कलाकार 

By खबरहब

April 29, 2022

काठमाडौँ- बलिउडमा अभिनेता इरफान खानले संसार छाडेको दुई वर्ष बितिसकेको छ । यद्यपि उनका कामले अझै पनि चर्चा पाउने गरेका छन् । ५४ वर्षको उमेरमा इरफानले सन् २०२० को अप्रिल २९ मा संसार छाडे । जीवन्त अभिनय गर्ने कलाकारमा पर्ने उनी फिल्म र थियटरका चम्किला तारा थिए । बलिउड हुँदै हलिउडसम्मको फिल्ममा काम गरेका इरफानले  गरेका कामहरुले धेरैलाई प्रभावित बनाउने गरेको छ । पात्रलाई आफूमा ल्याउने र आँखा मार्फत भाव व्यक्त गर्ने इरफानको कामहरु अझैँ पनि धेरैका लागि ‘सिकाई’ बनेकै छ । उनको कामले आज पनि क्यारेक्टरमा जीवन खोज्नेलाई प्रभावित बनाउने गरेको छ । 

अन्तिम फिल्म अंग्रेजी मिडियममा देखिएका इरफान सरल जीवन बिताउने रङ्गकर्मीका रुपमा चिनिएका कलाकार हुन् । उनलाई भेट्ने अवसर पाएका अभिनेता भोलाराज सापकोटालाई उनको काम गज्जब लाग्छ । रङ्गकर्म मार्फत फिल्ममा समेत अभिनेता बनेका बोलाले बलिउड फिल्म ‘बर्फी’ मा समेत काम गरेका छन् । उनलाई सरल बनाउन , क्यारेक्टरमा जीवन भर्न केही हदसम्म इरफानको प्रभावले काम गरेको छ । सन् २००५ मा नेपालबाट ‘अग्निको कथा’ नामक नाटक लिएर एनएसडी अर्थात नेशनल स्कुल अफ ड्रामा पुग्दा उनको भेट इरफानसँग भएको थियो । 

चन्द्रकान्तामा देखिरहेका इरफानलाई आफू अगाडि पाएपछि भोला दंग थिए । ‘सिरियलमा देखेको इरफान सर , साथमा सौरभ शुक्ला देख्दा म दंग थिए । उनीहरुको अभिनयबाट प्रभावित म , व्यवहारबाट झनै भए’ भोलाले भने । नाट्यकर्मी सुनिल पोखरेलको नेतृत्वमा एनएसडी पुगेका भोलालाई इरफानले अँगालो हाल्दै स्वागत गरेका थिए । 

‘उहाँले गरेको व्यवहारलाई म शब्दमा व्यक्त नै गर्न सक्दिनँ । हाम्रो प्ले हेरेर प्रतिक्रिया समेत दिएका इरफान सरले हामीलाई स्थानीय मिठाई समेत खुवाउनु भएको थियो’ भोलाले भने । इरफानले गरेको व्यवहारले गर्दा भोलाले आफूमा पनि सरलता आएको बताए । ‘जो अभिनयमा अब्बल छ । बलिउडमा काम गरिरहेको छ । उसको जीवन र व्यवहार दुवै सरल छ । त्यो देखेको कसैले घमण्ड गर्न सक्ला र ? भोलाले प्रश्न गरे ।

उनको दोस्रो भेट इरफान नेपाल आउँदा भएको हो । ‘काठमाडौँ थियटर इन्टरनेसनल थियटर फेस्टिभल’ मा सहभागी हुन् इरफान आफ्नो पत्नी सहित सन् २०१० मा नेपाल आएका थिए । नोभेम्बरको महिनामा नेपाल आएका इरफान झन्डै ६ दिन नेपाल बसेँ । ‘इरफान सर नेपाल बस्दा झनै नजिकबाट चिन्ने मौका पाए । उहाँको सरलतालाई झनै नजिकबाट महसुस गरे । म स्टेज म्यानेजर थिए । हामी थियटरकर्मी आफ्नो काम आफैँ गर्छौँ । उहाँ पनि हामीसँगै काम गर्नु हुन्थ्यो’ भोलाले सम्झिए । 

इरफानले उनलाई ‘भोले’ भन्ने गर्थे । दिनभर विभिन्न प्ले हेर्ने इरफान साँझको समयमा आफ्नै तरिकाले काठमान्डौ घुम्थे । उनको कुनै डिमाण्ड थिएन । सरल भएर सहरलाई बुझ्ने कोसिश गर्थे । ‘त्यतिको डाउन टू अर्थ त कसरि भइन्छ भन्ने लाग्छ । ६ दिन सम्म नेपाल बस्दा उनले केही डिमाण्ड गरेको सम्झना छैन’ भोलाले भने ।  यद्यपि उनले ग्रुप बाहेक इरफानसंग फोटो खिचाउन पाएनन् । त्यो पछुतो उनलाई छ । ‘एक दिन म स्टेजमा छदा नै सबैले इरफान सरसँग फोटो खिचाई रहेका थिए । अन्तिममा मलाइ इरफान सरले ‘भोले आजा , तु बाँकी है’ भन्नु भयो । मलाइ लाज लाग्यो । मैले तस्विर खिचाइन । अहिले पछुतो लाग्छ । उहाँसँग ग्रुपमा मात्र तस्विर छ’ भोलाले भने ।

 इरफानसँग त्यसपछि उनको भेट भारतमा भयो । ‘बर्फी’ को शिलशिलामा भारत पुग्दा उनले एक दिन इरफानलाई फोन गरे । ‘मैले सुनिल सरसँग नम्बर लिएर फोन गरे । पहिलोपटक उनी घरमा थिएनन् । दोस्रो पटक कुराकानी भयो । ‘तु कहाँ पे हे भोले’ भनेर सोध्नु भयो । मैले गोरेगाउँको होटेलमा छु भनेपछि पत्नी सहित भेट्न आए । उनको आगमनले त्यहाँ होटेलमा रहेका सबै अचम्मित भए । झन्डै दुई घण्टा हामीले गफगाफ गरेका थियौँ’ भोलाले भने । 

इरफानसँग उनको अन्तिम भेट बर्फीकै डबिङको समयमा भएको थियो । ‘इरफान सरको अन्तर्वार्ता रहेछ । त्यहाँ नजिकका साथी खोजिने क्रममा सुनिल सरको प्रसँग आएपछि म पनि भारत पुगेको थिएँ । त्यहिँ भेट अन्तिम थियो’ भोलाले भने । उनलाई इरफानको लाइफ अफ पाई , पान सिंह तोमर जस्ता फिल्म उत्कृष्ट लाग्छ । विशेषत अभिनयमा उनको सरलताले प्रभावित बनाउने तर्क भोलाको छ । 

‘मान्छे जस्तै आफूले पाएको भूमिकालाई सरलताका साथ् पुरा गर्ने उनको शैली थियो । उनको आँखाले समेत अभिनय गर्थ्यो’ भोलाले भने । आज पनि इरफानको अभिनयले भोलालाई प्रभावित बनाउने गरेको छ । उनी इरफानका फिल्महरू फुर्सदमा हेर्ने गरेका छन् । रंगकर्ममा इरफान अब्बल कलाकारको रुपमा भोलाको सम्झनामा छन् ।