समाचार

सर्वोच्च अदालतको आदेशविरुद्ध आन्दोलन चर्किदै

By खबरहब

May 29, 2022

बारा– निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढस्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम गरेका छन् । स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चको आयोजनामा आइतबार भएको चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका छन् । 

धर्नामा सहभागीहरूले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । उनीहरूले सर्वोच्च अदालतको आदेश पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । 

आज बेलुका ७ बजे पनि राजमार्गमा धर्ना तथा राँके जुलुस प्रदर्शन गर्ने सरोकार मञ्चका श्यामकृष्ण घिमिरेले बताए । यसैगरी काठमाडौँमा बस्दै आएका निजगढवासीले पनि आज दिउँसो २ः३० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताएका छन् ।