काठमाडौँ- पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको बेपत्ता तारा एअरको विमानको खोजीकार्य अझै जारी छ ।
स्थानीय समयअनुसार बिहान ९ बजेर ५५ मिनेटमा उडेको टुविन अटर ९ एनएईटी विमान अन्तिमपटक जोमसोम टावसरँग १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने स्थानमा सम्पर्क भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।
त्यसपछि विमान बेपत्ता छ ।
१९ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार विमानको खोजी कार्यका लागि फिस्टेल एअरको हेलिकोप्टर परिचालन गरिएपनि खराब मौसमका कारण हेलिकोप्टरहरु खोजी अभियान स्थगित गरी पुनः जोमसोम नै फर्केको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
मौसम सफा हुनासाथ खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरु तयार रहेको जनाइएको छ ।
खोजी तथा उद्धार कार्यका लागि नेपाली सेना र नेपाल प्रहरी स्थलमार्गबाट त्यसतर्फ पठाइएको पनि नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।