फाइल तस्बिर

देश/प्रदेश

सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको टोली सम्भावित क्षेत्रमा

By खबरहब

May 29, 2022

काठमाडौँ- सम्पर्कविहीन भएको तारा एयरको जहाज खोज्न नेपाली सेनाको टोली सम्भावित क्षेत्रतर्फ लागेको छ । पोखराबाट जोमसोमको लागि उडेको ट्वीनअटर विमान खोज्न नेपाली सेनाका ८२ जना टोली परिचालन गरिएको छ ।

मुस्ताङको घाँसाबाट पैदलमार्ग हुँदै ६२ जनाको टोली र २० जनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्र खोज्न लागेका हुन् । पाइलटको फोन लागिरहेको छ । सोही आधारमा लोकेसन ट्र्याक गरेर सम्भावित क्षेत्रतर्फ लागेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

स्थलमार्ग हुँदै गएको टोलीले फोनको लोकेसन ट्रेस गरिसकेको छ । सोही आधारमा टोली मोभिलाइजेसन भएको प्रवक्ता सिलवालको भनाइ छ । हेलिकोप्टरमार्फत गएको टोली मुस्ताङको कोवाङ्गमा तयारी अवस्थामा छ ।

पैदलमार्ग हुँदै गएको टोलीले फेला पारेपछि हेलिकोप्टरमार्फत तयारी अवस्थामा रहेको टोलीले तत्कालै उद्दार गर्नेछ । खराब मौसमका कारण हेलिकोप्टर कोवाङबाट अगाडि बढ्न सकिरहेको छैन । ठाउँ पत्ता लागेको खण्डमा पाँच मिनेटभित्रै उद्दार गर्ने गरी हेलिकोप्टर तयारीमा राखिएको प्रवक्ता सिलवालले बताए ।

यतिबेला फिस्टेल एयरको सानो हेलिकोप्टरले समेत सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ । नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पनि त्यसतर्फ पुग्न लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डीएसपी रामकुमार दानीले बताए ।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो । जहाजलाई सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाइरहेका थिए । जहाजमा चालकदलका तीन जनासहित २२ जना यात्रु थिए ।