आर्थिक

साउनदेखि कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने

By खबरहब

May 29, 2022

काठमाडौँँ– सरकारले आगामी साउन १ गतेदेखि लागू हुनेगरि तलबमा १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिने बताएका हुन् । 

निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन साउन १ गतेदेखि लागू हुनेगरि तलबमानमा १५ प्रतिशतले वृद्धि गरिएको मन्त्री शर्माले बताए । 

हाल खाईपाई आएको महँगी भत्तालाई समेत निरन्तरता दिएको उनको भनाइ छ । राष्ट्रसेवक कर्मचारीहरूको तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकहरूको तलब सुविधाको अध्ययन गरी सरकारलाई सिफारिस गर्न एक उच्चस्तरीय तलब सुविधा आयोग गठन गरिने मन्त्री शर्माले बताए ।