मौसम परिवर्तनसँगै थुप्रै मानिसमा घाँटी खस खस गर्ने र दुख्ने समस्या देखापर्छ। तर, घाँटी खसखस गर्ने विभिन्न कारण हुन्छन्। जसमध्ये मुख्य कारण भनेको एलर्जी हो। घाँटीमा खसखस वायु प्रदूषणका कारण पनि हुन्छ।
यसले घाँटीमा मात्रै होइन, हाम्रो शरीरको जुनसुकै भागमा पनि असर गर्नसक्छ। जाँड रक्सी सेवन, चुरोटको सेवन र धेरै मात्रामा चिल्लो पिरो खाँदा पनि घाँटीमा खसखस हुनसक्छ।
वातावरणमा भएको सामान्य कुरालाई शरीरले पचाउन नसकेर रियाक्सन गरेको अवस्थामा एलर्जी हुन्छ। अहिलेको मौसम पनि यस्तैखालको छ। जसले गर्दा यो समस्या बढेको छ। दुई जना मानिस भएका ठाउँमा धुलो आयो भने एकजनालाई असर गर्ने र अर्कोलाई नगर्ने हुनसक्छ।
कसैलाई धुलोले, कसैलाई चिसोले, कसैलाई प्रदूषणले, कसैलाई फूलका परागले, कसैलाई कुकुर–बिरालो आदिका रौँहरुले पनि एलर्जी हुन्छ।
घरमै हुने मसिना किराको फोहोरले पनि एलर्जी हुन्छ। यी वस्तु शरीरमा कतैबाट पस्यो भने शरीरले नपचाएका अवस्थामा प्रतिक्रिया गर्छ। जसको कारण मानिसमा विभिन्न लक्षण देखिने हुन्छ।
प्राय मौसम परिवर्तनसँगै घाँटीमा विभिन्न समस्या देखा पर्छन। घाँटी दुख्ने, खोकी लाग्ने, घाँटी खसखस गर्ने समस्या देखा परेका छन्। कसैलाई ज्वरो आउने हुन्छ भने कसैलाई रुघाखोकी पनि लाग्ने गरेको छ।
घाँटी खसखस किन हुन्छ ? कुनै व्यक्तिलाई रुघा लाग्नु भन्दा कानको भित्रि भाग चिलाउने, घाँटी चिलाउने, नाकदेखि पछाडिको भाग चिलाउने हुन्छ। यो इरिटेसन भएको अवस्था हो। सामान्य घाँटी सुन्निएको अवस्थामा यस्तो समस्या देखा पर्छ।
धुलो धुवाँको एलर्जी, प्रदूषण, खानपानले गर्दा एलर्जी हुन्छ। सामान्य भाषामा हामीले धुलो धुवाँले गर्दा एलर्जी भयो भन्छौ। तर, मेडिकल भाषामा ‘हाइपरसेन्सिटीभिटी’ भन्छौ।
यसले सुरुमा सामान्य रियाक्सन देखाउछँ। पछि दोस्रो, तेस्रो गर्दै घाँटी, नाक र श्वासनलीको कोषलाई असर गर्छ। यसलाई हामी सामान्य भाषामा एलर्जी भन्छौ। कहिले घाँटीको इन्फेक्सन, ग्यासको समस्याले पनि घाँटी खसखस हुन्छ।
खानपान मिलेको छैन, तनाव लिइरहने बानी छ भने घाँटी, नाक र कानमा समेत असर गर्छ। धेरै व्यक्तिलाइ एउटा भन्दा पनि अरु विभिन्न कारणले घाँटीको समस्या देखिने गरेको छ।
एलर्जी सबैभन्दा बढी संक्रमण हुने बालबालिकामा हुन्छ। वयस्क भन्दा वृद्धवृद्धामा यो समस्या बढी हुने गरेको देखिन्छ। धेरै असर गर्ने भनेको धुम्रपान गर्ने, पहिले देखिनै अरु रोगले छातीको रोग भएका व्यक्ति, सँगै बालबालिकामा थोरै एलर्जी भएपनि धेरै गाह्रो हुनेगर्छ।
समयमै उपचार नगर्दाको जोखिम सामान्य अवस्थामै यसको उपचार गरिएन भने ब्रोङकाइटिस, निमोनिया, दम , फोक्सो कडा हुँदै जाने अवस्थासम्म पनि पुग्नसक्छ। हामीले यस्तो समस्या नआउन धुलोबाट बच्न आवश्यक हुन्छ।
धुँवाधुलोबाट लाग्ने रोग दीर्घरोग हुन्। जबसम्म वातावरण सफा गर्ने र त्यसबाट बच्ने उपाय खोजिदैन कुनै औषधि खाएर पनि ठिक हुँदैन। के रोग लागेको छ, जाँचेर मात्र औषधि खानुपर्दछ।
कहिलेकाँही हामीलाई रुघा लाग्ने, सिँगान बग्ने, हाछ्युहाछ्यु आउने गरेको पाइन्छ। रुघा लागेको तीनदेखि चार महिनासम्म निको नहुने र नाकमा पोलिक पलाउने हुन्छ। त्यो पोलिकले गर्दा दुवै नाक बन्द हुने हुदाँ अप्रेशन गरेर फाल्नुपर्ने अवस्था आउनसक्छ।
कसैलाई फंगस ग्रोथ भएर ठूलो अप्रेशन गर्नुपर्ने हुनसक्छ। क्षणिक रुपमा खाइने औषधिले शरीरमा रोग निम्ताउने, रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले आफै औषधि किनेर खानु हुँदैन।
कस्तो अवस्थामा जटिल घाँटी खसखस मात्र गरेको छ। ऐनामा हेर्दा रातो देखिएको छ। तर, तातोपानी खाँदा ठीक हुन्छ भने सामान्य रुपमा लिन सकिन्छ। कसैलाई दुबै नाक बन्द हुन्छ।
बाक्लो पहेलो सिगान आउँछ, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने, सास फेर्न गाह्रो हुने, लगातार चार हप्ता भन्दा बढी खोकी लागिरन्छ। बाक्लो खकार आउँछ भने चिकित्सकलाई देखाएर के भएको हो, पत्ता लगाउनुपर्छ।
घाँटीको समस्याको उपचार हामीले सुरुमा त के कारणले भएको हो, पत्ता लगाउनुपर्छ। एउटै मात्र कारणले घाँटीको समस्या हुँदैन। घाँटी खसखस गरेर धेरै जना अस्पताल इन्डोस्कोपी गर्दा अरु रोग देखापर्छ।
नाकमा अरु कुनै इन्फेक्सन भएको छ छैन भनेर इन्डोस्कोपी बाट जाँच गरिन्छ। हाम्रो बोल्ने नली जाँच गर्छौँ। कसैलाई एलर्जी भएर पिनास भएको हुनसक्छ पिनास भएको छ छैन जाँच गरिन्छ।
फगंस इन्फेक्सन भएको छ भने सिटीस्क्यान गरेर हेर्ने गरिन्छ। सबै जाँच गरेपछि धुलोको कारण भएको हो भने त्यही अनुसारको उपचार गरिन्छ।
समस्या दोहोरिन नदिन के गर्ने ? धुलोको कारण हुने समस्या धेरै हुन्छन्। यसले इरीटेसन गरेर प्रत्क्षय रुपमा फोक्सोमा असर गर्छ। अर्को हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई एकीकृत गराउँछ। थोरै धुलोँ हुँदा पनि संक्रमण हुने गर्छ। हामीले दीर्घकालीन रुपमा प्रदूषण घटाउनुपर्छ। यदि प्रदूषण घटाउन सकिएन भने किमिनोथेरापी गर्न सकिन्छ। नाकमा पोलिक पलाएको छ भने शल्यक्रियाबाट हटाउन सकिन्छ। उपचार जटिल भएकाले समस्याबाट बच्नुपर्छ।
समस्याबाट बच्न के गर्ने ? हामी सकेसम्म प्रदूषणमा निस्कनु हुँदैन। यदि निस्कनै परेमा मास्क लगाएर हिँडेमा अरु धेरै समस्याबाट पनि बच्न सकिन्छ।
कुनै रोग लागेको छ भने सकेसम्म छिटो उपचार गरिहाल्नुपर्छ। जसले गर्दा अरु गम्भीर समस्या उत्पन्न हुन पाउँदैन्। र, दीर्घकालीन कुनै समस्या पनि हुँदैन।
कस्तो मास्क प्रयोग गर्ने ? विभिन्न मास्क कम्पनीले नयाँ नयाँ मास्क बजारमा ल्याएका छन्। के एन ९५, एन ९५ देखि विभिन्न कपडाको मास्क, सर्जिकल मास्क आएका छन्।
एन ९५ मास्कले सानो भन्दा सानो धुँलोका कण पनि रोक्न सक्छ। तर, सबै जनालाई यो मास्क किन्न सहज हुँदैन। कुनै पनि दुई तह, तीन तह भएको मास्क लगायो भने रोगबाट बच्न सहयोग गर्छ। मास्क लगाउँदा नाकको बीच भागमा टपक्क हुने गरी मिलाएर लगाउनुपर्छ। (डा. गौतमसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीमा आधारित)