मनोरञ्जन

नेपाली फिल्ममा अभिनय गर्दै ब्रह्मानन्दम् 

By खबरहब

June 29, 2022

काठमाडौँ– भारतीय कलाकार तथा प्राविधिकलाई लिएर तयार गर्ने भनिएको फिल्म ‘ह्रस्व दीर्घ’ मा चर्चित कमेडियन ब्रह्मानन्दम्ले अभिनय गर्ने भएका छन् । दक्षिण भारतीय चर्चित कमेडियन कलाकार ब्रम्हानन्दम्लाई फिल्ममा अनुबन्धित गरिएको निर्मात्री नीता ढुंगानाले जानकारी दिएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत यसको जानकारी गराएकी हुन् । दक्षिण भारतका मुख्य गरी तमिल र तेलगु भाषाका फिल्ममा देखिने ब्रम्हानन्दम् संसारकै सबैभन्दा धेरै फिल्म खेल्ने अभिनेता हुन् । हजारभन्दा बढी फिल्ममा देखिएका ब्रहानन्दम्ले यही कारण गिनिज वर्ल्ड रेकर्डस्मा नाम लेखाएका छन् । 

यसअघि नै फिल्म ‘ह्रस्व दीर्घ’ मा फिल्म ‘पुष्पा’ को भिलेन सुनिल वर्मा ,‘गजनी’ का भिलेन प्रदीप सिंह रावतको पनि अभिनय रहने तय भइसकेको छ । यस्तै फिल्मलाई भारतीय डिरेक्टर अफ फोटोग्राफी कबीर लालले खिच्नेछन् । फिल्ममा फिल्म नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण हुने भएकोले भारतीय प्राविधिक तथा कलाकारलाई समेटिएको निर्देशक चन्द्र पन्तले बताए । ‘फिल्म दुई भाषामा बन्दैछ । हामी कुनै सम्झौता बिना फिल्म तयार गर्ने तयारी गरिरहेका छौँ । भारतीय प्राविधिक कलाकार तथा प्राविधिक पनि संलग्न हुने भएकाले उहाँलाई लिएका हौं ’ निर्देशक पन्तले भने ।

फिल्मको छायांकन भारतको ‘रामोजी फिल्म सिटी’ मा छायांकन हुने भएको छ । फिल्मका लिड अभिनेता हरिहर अधिकारीले समाचारको पुष्टि गरेका छन् । केही समय अगाडि फिल्म निर्माण कम्पनी र फिल्म स्टुडियोबीच सम्झौता भएको हो । संसारकै सर्वाधिक ठुलो फिल्म सिटीको रुपमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको ‘रामोजी फिल्म सिटी हैदरावाद’ मा पहिलो पटक नेपाली फिल्मको छायांकन हुन लागेको हो

। बलिउड तथा दक्षिण भारका अधिकांश फिल्महरू उक्त स्टुडियोमा छायांकन हुँदै आएका छन् । निता फिल्म्सले भारतीय कम्पनी काकत्यान प्रोडक्सनसँग मिलेर फिल्म निर्माण गर्दैछ।