मनोरञ्जन

‘झिँगेदाउ’ को टाइटल टिजर सार्वजनिक

By खबरहब

June 29, 2022

काठमाडौँ– ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को टाइटल टिजर सार्वजनिक गरिएको छ । निर्देशन देउजाले सार्वजनिक टाइटल टिजरबाट फिल्मको कथासार बुझाउन खोजेको बताए ।

सार्वजनिक ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ । निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन पनि आफूले टाइटल टिजर सार्वजनिक गर्नु परेको खुलाए । आगामी भदौ १७ गतेबाट फिल्म रिलिज हुनेछ । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम सकिएकाले अब आफू पूर्ण रुपमा प्रचारमा केन्द्रित रहेको निर्देशक देउजाले बताए ।

कपनगडी सिनेमा र फिल्म क्रियशन नेपालको ब्यानरमा निर्माण भएको यो फिल्म भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’ मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा संवाद लेखेको फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मका सह-निर्माताको रुपमा सुशील दाहाल र ईश्वर घिमिरे रहेका छन् ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भूमिका रहेको छ । यसमा केकी र आँचल जेठानी देउरानीको भूमिकामा देखिने छन् ।