राजनीति

कम्युनिष्ट आन्दोलनकाे बहस गर्ने उचित फोरम बन्न सकेन : नेता खनाल

By खबरहब

June 29, 2022

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा बहस गर्ने धेरै विषयहरू रहेको बताएका छन् ।

बुधबार ललितपुरमा वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले जहाँ उभियो त्यही नै बहस गरेर कम्युनिष्ट आन्दोलन अघि नबढ्ने समेत बताए । उनले कम्युनिष्ट आन्दोलन बहस गर्ने उचित फोरम अहिलेसम्म बन्न नसकेको जिकिर गरे । हतियार उठाएर मात्रै क्रान्ति नहुने भन्दै खनालले परिस्थितिको मूल्याङ्कन गरेर समाजलाई अघि बढाउन सकिने बताए छन् । उनले नेपाली आन्दोलनमा वामपन्थी नेता सिद्धिलालले गरेको योगदानको चर्चा गरे ।

कार्यक्रममा एमालेका नेता घनश्याम भुसालले राजनीतिलाई निजी र सजिलो आयको माध्यम बनाउँदा समस्या देखिएको बताएका छन्। उनले एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउहरू नउम्रिने रैथाने बीउ भएको भन्दै अव हाइब्रिड बीउको आवश्यकता रहेको तर्क गरे । यसअघिको नेकपा हाइब्रिड बीउ भएको भएपनि बुद्धि नपुगेर भकारीमा आगो लगाइएको उनको भनाई छ । 

कार्यक्रममा अन्य कम्युनिष्ट नेताहरूले कम्युनिष्ट आन्दोलनमा सिद्धिलाल सिंहले खेलेको भूमिकाको चर्चा गरेका थिए ।