काठमाडौँ : असार १५ गते राष्ट्रिय धान दिवस मनाइरहँदा भन्सारबाट बाहिरिएको तथ्य हो, झण्डै एक वर्षमा ४५ अर्बको चामल मात्रै आयात भयो । यो तथ्य त्यतिबेला बाहिरिएको हो, जतिबेला नेपालका कृषिमन्त्री महिन्द्रराय यादव मेशिनमाथि बसेर धान रोपाइँ गरिरहेका थिए ।
यादव तिनै मन्त्री हुन्, जसले केही समयअघि किसानका लागि रसायनिक मल किन्ने बेलामा आवश्यक सहमति र बजेट दिन आनाकानी गर्दा मल खरिद प्रक्रिया रोकिएको थियो । किसानलाई समयमा मल दिनका लागि खरिद प्रक्रिया अगाडि बढाउनै नसक्ने मन्त्री यादव धान दिवसका दिन मेशिनमाथि बसेर लाज पचाएरै भएपनि धान रोपिरहेका थिए ।
उनले धान रोपिरहेको फोटो सार्वजनिक भइरहँदा सामाजिक सञ्जालमा आलोचना पनि त्यति नै बढेको थियो । कारण किसानका लागि मल ल्याउन नसक्ने मन्त्रीले कसरी मेशिनमा बसेर धान रोपाइँ गर्न सक्छन् ?
उनी त्यस्ता असफल एक मात्रै मन्त्री होइनन्, यसअघि कृषिमन्त्री बनेका चक्रपाणी खनालदेखि घनश्याम भुसालसम्मले पनि किसानको आवश्यकताअनुसार मल खरिदमा कुनै जादुयी गर्न सकेका थिएनन् । बरु मल खरिद गर्ने हाकिम नेत्र भण्डारीमाथि केही समयअघि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
खरिद गरेको मलको म्याद गुज्रिदा त्यसैलाई बजारमा पठाएको आरोपमा उनी भ्रष्टाचार मुद्दामा तानिएका थिए । कृषि मन्त्रालयमा भण्डारीजस्ता सयौँ कर्मचारी छन् । जो आफ्नो नीहित स्वार्थको काम तत्कालै गर्छन् । तर जनताको अनिवार्य आवश्यकता बनेका विषयमा भने महिनौसम्म टारेरै बस्ने प्रवृत्ति छ । जसकारण मानो रोपेर मुरी फलाउने असार महिना किसान पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् ।
तर आफ्नौ नैतिक धरातल गुमाइसकेका र किसानप्रति पूर्ण रुपमा गैरजिम्मेवार रहेका कृषि मन्त्री भने मेशिनमाथि बसेर निर्लज्जताका साथ धान रोपाइँ गरिरहेका छन् । तथ्य यति मात्रै छैन, नेपाल कृषि अनुसन्धान परिषद नार्कले नेपालमै राम्रो चामल उत्पादन गर्न सकिने भनेर पटक पटक प्रस्ताव मन्त्रालयमा लिएको हुन्छ ।
तर त्यसमाथि राजनीतिक दलका नेताहरुले कहिल्यै गम्भीर छलफल गर्दैनन् । तराईका अधिकांश जिल्लामा उत्पादन हुने धान भारतमा बेचिने गरेको तथ्य पनि नार्ककै वैज्ञानिक बाहिर ल्याइरहेका हुन्छन् । तर त्यसबारे कहिल्यै पनि खास छलफल भएन ।
बुधबार कृषिमन्त्री यादवसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मेशिनमाथि नै बसेर भक्तपुरमा रोपाइँ गरे । तर उनले नेपाली किसानको समस्या, भारतबाट वर्षौ अर्बौ बराबरको चामल आयातबारे कान थुनेरै बसे ।
उनी दुईपटकसम्म प्रधानमन्त्री बनिसकेका व्यक्ति हुन् । तर स्वदेशमै आवश्यक मल र सिँचाईको समस्या समाधान गरेर धान फलाउन सकिन्छ भन्नेबारेमा कहिल्यै राजनीतिक दलका शीर्ष नेता गम्भीर भएनन् । यो नै वर्तमान तर कृषिप्रधान देश भनिने नेपालीको बिडम्बना बनेको छ । आखिर यो कहिलेसम्म ? जसको कुनै जवाफ छैन ।