फाइल फोटो

समाचार

२२ हजार बढीले गरे स्वास्थ्य बीमा 

By खबरहब

July 29, 2022

लमजुङ– लमजुङमा ०७७ माघदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ०७९ चैत मसान्तसम्म २२ हजार २६१ जनाले स्वास्थ्य बीमा गराएका छन् । 

विपन्न समुदायलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा लमजुङमा ३३ सय ८९ परिवार आवद्ध भएका हुन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वास्थ्य विकास समितिमार्फत ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाका नागरिकको सहभागिता क्रमिक रूपमा बढ्दै गएको छ ।

जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी अनुपमा रेग्मीका अनुसार स्वास्थ्य बिमामा आवद्धमध्ये जेष्ठ नागरिक ५२ सय ११ जना, महिला स्वास्थ्य स्वयंसेविका २२२ जना, क वर्ग पूर्ण अशक्त अपांगता भएका २३० जना र एचआईभी संक्रमित ५८ जना छन् । सोबाहेक कुष्ठरोग देखिएका एकजना छन् ।

गण्डकी प्रदेश सरकारले ल्याएको लक्षित वर्ग अनुदान सहयोग स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत एक हजार बढी परिवार स्वास्थ्य बीमामा आवद्ध भएका छन् । जसमध्ये ख वर्ग अति अशक्त अपांग परिवारतर्फ ९९२ जनाले स्वास्थ्य बिमा गराएका छन् भने सहिद परिवारतर्फ १६, द्वन्द्वपीडित परिवारतर्फ २४ र मिर्गौलापीडित परिवारतर्फ पाँचजना स्वास्थ्य बीमामा आवद्ध भएका छन् । 

प्रदेश सरकारले सम्बन्धित वडा तथा पालिकामा रहेका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमामा आवद्ध हुन, अशक्त अपांग परिवार, सहिद परिवार, द्वन्द्वपीडित र मिर्गौलापीडित परिवारलाई आग्रहसमेत गरेको छ । कार्यक्रमका लागि जिल्लामा ७१ जना दर्ता सहयोगी परिचालन गरिएको छ । नागरिकले वडावडामा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा गराउन सक्ने स्वास्थ्य बीमा बोर्ड लमजुङका दर्ता अधिकारी रेग्मीले बताइन् । 

स्वास्थ्य बीमामा आवद्ध हुन पाँचजनासम्म सदस्य रहेको परिवारले वार्षिक ३५ सय र पाँचजनाभन्दा बढी परिवारका सदस्य भएमा प्रति सदस्य सात सय रुपैयाँ थप शुल्क तिर्नुपर्नेछ । बीमामा आवद्ध भएका पाँचजनाको परिवारका लागि प्रतिपरिवार वार्षिक एक लाखसम्म निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएमा प्रतिसदस्य २० हजारका दरले सेवा शुल्क निःशुल्क हुने व्यवस्था छ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्ति तथा परिवारले सूचीकृत अस्पताल, स्वास्थ्य संस्थाबाट एक हजार ११८ प्रकारका औषधि उपचार पाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।