फाइल तस्वीर

देश/प्रदेश

सिन्धुपाल्चोकबाट एक वर्षमा झण्डै ७ हजारले लिए राहदानी

By खबरहब

August 29, 2022

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट एक वर्षमा छ हजार नौ सय ३३ जनाले राहदानी लिएका छन् ।

वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीको सङ्ख्या वृद्धि भएसँगै राहदानी बनाउने नागरिकको सङ्ख्यासमेत अघिल्ला वर्षको तुलनामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बाह्र स्थानीय तह रहेको यस जिल्लाबाट एक वर्षमा सात हजार नौ सय १९ फाराम सङ्कलन भएको थियो । छ हजार नौ सय ३३ थान राहदानी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार वैदेशिक रोजगारीका लागि तीन हजार पाँच सय ५५ महिला तथा चार हजार सात सय ९९ पुरुषले राहदानी लिएका हुन् ।

केहिले भने राहदानी लिन नआउने गरेको कार्यालयले जनाएको छ । राहदानीका लागि फाराम भर्ने नागरिकबाट एक वर्षको अवधिमा चार करोड ३३ लाख ८६ हजार दुई सय रुपैयाँ राजस्व सङ्कलन भएको प्रशासन कार्यालयले जनाएको छ ।