देश/प्रदेश

सप्तकोसी नदीमा जेटबोट सञ्चालनमा

By खबरहब

September 29, 2022

सुनसरी- सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ।

सप्तकोसी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले बोट सञ्चालनमा ल्याएका हुन्। चारवटा कम्पनीले तीनवटा लामो दूरीका र चारवटा छोटो दूरीका जेट बोट सञ्चालनमा ल्याएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक नवीन पौडेलले जानकारी दिनुभयो।

हिउँदको बेला चाडपर्वमा स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो। सप्तकोसी किनारस्थित बराहक्षेत्र मन्दिरबाट जेटबोट सञ्चालन भएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक पौडेलले जानकारी दिनुभयो। दसैँ तिहार लक्षित गरी यात्रुलाई सहजताका साथ आफ्नो गन्तव्यस्थल पुग्नका लागि जेटबोट सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो।

बराहक्षेत्रबाट कोप्चेसम्मका जेटबोटको हालको भाडादर जनही छ सय कायम गरिएको र जेटबोटले पाँच किलोमिटको दूरी तय गर्ने स्थानीय पत्रकार सङ्गम विष्टले जानकारी दिनुभयो।

पानी सतह घटेपछि भाडादरमा समायोजन गरिने पौडेलले जानकारी दिनुभयो। बराहक्षेत्रबाट जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाको सिम्ले, अखुवाटार, त्रिवेणी, साङ्मालगायतका ठाउँमा यात्रा गर्नका लागि सहज हुने उहाँले बताउनुभयो। जेट बोटको क्षमता ४० सिटको रहेको पौडलले बताउनुभयो।