ट्राभल

चुनावमै पर्यटन मुद्दामा प्रमुख पार्टीहरुको बेवास्ता

By खबरहब

October 29, 2022

काठमाडौँ : अहिले नेताहरू सबैलाई चुनाव लागेको छ । चुनावी नारा जताततै छन् । सँधै सहर बस्ने र बसिरहने नेताहरू यतिबेला गाउँ निस्केका छन् ।

गाउँ पुगेका नेताहरू चुनाव प्रचार गरिरहँदा नयाँ नयाँ एजेन्डा र मुद्दा बनाइरहेका छन् । तर नेपालको आर्थिक समृद्धिको आधार भनेकै पर्यटन विषयलाई भने प्रमुख पार्टीहरूले नै बेवास्ता गरेका छन् ।

विगतमा नेपालमा उत्तर र दक्षिणबाट रेल ल्याउने कुरा निकै भजाइएको थियो । यो मुद्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले झनै भजाएका थिए । नारायणी नदीमा पानीजहाज ल्याउने हावादारी गफ गर्ने नेताहरू अहिले भने पुरै बेवास्तामा छन् । ओली अहिले विगतजस्तो नयाँ नारा उचाल्नेमा छैनन् । उनी केवल सेफ ल्याण्डिङमा छन् ।

झापा ५ मा उनी आफैँलाई चुनाव जित्न गाह्रो छ । राप्रपाले साथ दिएको खण्डमा मात्रै ओलीको सम्भावना प्रबल छैन । अन्यथा उनलाई चुनाव जित्न गाह्रो देखिन्छ । आफू बलियो गरि चुनाव जित्न गाह्रो भएरै होला यसपटक ओलीले त्यस्तो भयङ्कर नारा केही पनि उचालेका छैनन् ।

पूर्व पश्चिम रेलदेखि पानीजहाजसम्म उनले केही पनि कुरा गरेका छैनन् । आफैँलाई चुनाव जित्न गाह्रो भएपछि उनलाई यतिबेला ठूलो सकस परिरहेको हो । प्रमुख प्रतिपक्षी मात्रै होइन, यतिबेला सत्ताधारी दल पनि कुनै पनि एजेन्डा बनाउन तयार देखिदैनन् ।

चुनावी मुद्दामा पर्यटनलाई उनीहरुले एजेन्डा बनाएकै छैनन् । काठमाडौँ उपत्यकादेखि पूर्व र पश्चिम नेपालको पर्यटनबारे नेताहरू पुरै बेवास्तामा छन् । उनीहरु विदेशबाट पर्यटक आएर नेपाल घुमून भन्ने चाहना राख्छन् । आफ्ना नेता तथा कार्यकर्तासमेत रहेका पर्यटन व्यवसायीलाई नाफा भएको पनि उनीहरु हेर्न चाहन्छन् ।

तर सत्तामा होस् वा सडकमा । वा त यस्ता चुनावमै । उनीहरु पर्यटनलाई मूल मुद्दा बनाएर देशलाई आर्थिक समृद्धि दिलाउन तयार छैनन् । आर्थिक समृद्धिका लागि उनीहरु दैनिक भाषण गरिरहेका छन् । तर कुनै पनि पर्यटकीय क्षेत्रमा व्यवस्थापन छैन ।

व्यवस्थित हुन नसकेका पर्यटकीय क्षेत्रमा नेताहरूको केवल चुनाव जित्ने स्वार्थ मात्रै छैन । उनीहरूको ध्यान नै चुनाव कसरी जित्ने भन्ने छ । बाँकी कुरामा उनीहरु न गम्भीर छन् । न त कुनै योजना बनाएर लागिरहेका छन् ।

सबैभन्दा ठूलो पर्यटकीय क्षेत्र काठमाडौँमा फोहोरको समस्या पुरानै छ । पोखरामा अतिक्रम हुँदा फेवाताल पुरिने अवस्थामा पुग्दो छ । लुम्बिनीको जुन रुपमा प्रचार र संरक्षण हुनुपर्ने हो, त्यो अझै भएको छैन ।

पूर्वी नेपालको पूर्वाधार उस्तै छ । कर्णालीमा रारा र फेवाताल छन् । तर पनि ती ठाउँमा पूर्वाधार संरचना छैन । पूर्वाधार नभएकै कारण रारामा जति पर्यटक पुग्नुपर्ने हो, ती पुगेका छैनन् ।

सुदूरपश्चिमलाई सुन्दर बनाउने खप्तड र बडिमालिका अझै पनि पूर्वाधारकै कारण ओझेलमा छन् । यस्ता धेरै पर्यटकीय गन्तव्य ओझेलमा छन् । तर नेताहरू केवल सत्ताकै कुर्सीमा टाँसिएका छन् ।

यसले गर्दा नेपालको विकासमा पर्यटन जति निर्णायक सम्भावना हो, त्यो केवल सम्भावनामै सीमित रहेको छ । प्रमुख राजनीतिक पार्टीका नेताहरू नै चुनाव प्रचार केवल औपचारिकतामा सीमित भइरहेका छन् ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा चुनाव जित्न लालयित छन् । माओवादी अध्यक्ष प्रचण्ड गोरखा केन्द्रित छन् । माधव कुमार नेपाल रौतहट केन्द्रित छन् । उनीहरूलाई सडक, अस्पताल, विद्यालय कुनै कुराको पनि चाँसो र चिन्ता छैन ।

जसकारण नेपालको पर्यटकीय सम्भावना देखिएर पनि नेताहरूले नदेखेझैं गरेका छन् । यो नै नेपालको पर्यटन विकासमा प्रमुख समस्या हो । जुन कहिलेसम्म रहिरहन्छ ? भन्ने पनि यकिन छैन ।