राजनीति

कांग्रेसको संकल्पपत्र: तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने

By खबरहब

October 29, 2022

काठमाडौँ– नेपाली कांग्रेसले आगामी पाँच वर्षमा खाद्यान्न उत्पादकत्वमा वृद्धि गरी तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने लक्ष्यसहित पार्टीको चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ ।

नेपालको कूल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान गर्ने कृषि क्षेत्रको प्रवर्द्धन गर्ने नीतिअनुरूप कांग्रेसले नगदेबाली र जडीबुटीको निर्यात दोब्बर बनाई खाद्य असुरक्षा सूचकांकमा प्रगति गर्ने योजना अघि बढाएको छ ।

कांग्रेसले आगामी पाँच वर्षमा कृषिको थप आधुनिकीकरण तथा व्यवसायिकरण गर्दै प्रत्येक स्थानीय तहमा कृषि भूमिको क्लस्टर बनाइ खाद्य तत्त्वको परीक्षण र माटोको गुणस्तरको चित्र बनाएर उत्पादन योजना तयार गर्ने लक्ष्य लिएको छ । 

त्यस्तै नगदेबाली र जडीबुटीको निर्यात दोब्बर बनाई खाद्यान्न असुरक्षाका सूचकांकमा प्रगति हासिल गर्ने नीति लिइएको छ । बढी उत्पादन दिने बाली तथा पशुपक्षीको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानलाई प्राथमिकता दिइनेछ ।

उन्नत जातका बीउबिजनको उपलब्धतालाई सहज र सुलभ बनाउने व्यवस्था मिलाइनेछ । ठूला सिँचाइ प्रणालीको वैज्ञानिक व्यवस्थापन र साना तथा सौर्य सिँचाइको प्रयोग बढाइने संकल्पपत्रमा भनिएको छ ।